विज्ञापन

कैलालीको भजनीमा प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन

Image

भजनी / कैलालीको भजनी नगरपालिका–१ भजनी बजारका दुई जना युवाले प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यका साथ मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन्।

भजनी नगरपालिका वडा न ५ का भीमबहादुर विक र वडा नम्बर १ का करन कार्कीको संयुक्त लगानीमा उद्योग सञ्चालन ल्याएका हुन्। सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत भएसँगै उद्योग सञ्चालनमा ल्याएको भीम बहादुर विकले बताए।

बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रुपमा उद्योग सञ्चालनमा ल्याइएको उनले बताए। एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्न सक्ने संचालक बिक ले बताउनु भएको छ। झोला बनाउने उपकरण खरिद गर्न मात्रै ८० लाख खर्च भएको विकले बताए।
दुई वर्ष सम्म सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याइएको अर्का सञ्चालक करन कार्कीले बताए। उनले उद्योगको भविष्य स्थानीय सरकार र व्यापारीमा निर्भर रहेने उनले बताए। भारतसँग खुला सिमाना भएकाले प्लास्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने समस्या रहेको उनको भनाई छ।

उत्पादन भएको झोला स्थानीय बजारमा खपत नहुँदा धनगढीमा भने राम्रो माग भइरहेको उनले बताए। धनगढीमा प्लास्टिक निषेध गरिएको छ। गत असोज १ गतेदेखि सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। तत्काल नागरिकमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफैँ माग बढेर जाने विश्वास संचालकहरुको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन