राजापुर–५, बर्दिया । राजापुर नगरपालिका–५ का बृजलाल थारु विगत दुई दशकदेखि तरकारी खेती गर्दै आएका छन्। सुरुमा परम्परागत तरिकाले खेती गर्दै आएका उनले पछिल्लो एक दशकयता भने बेमौसमी तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन्।
बेमौसमी खेतीमा मेहनत र जोखिम केही बढी भए पनि बजारमा राम्रो मूल्य पाइने भएकाले आम्दानी पनि राम्रो हुने बृजलाल बताउँछन्। उनका अनुसार पछिल्लो समय खेतीमा प्रविधिको प्रयोग गर्न थालेपछि काम सहज हुनुका साथै मेहनत कम र उत्पादन तथा आम्दानी बढेको छ।
पहिले तरकारी बारीमा झारपात हटाउन नियमित गोडमेल गर्नुपर्ने र माटोमा चिस्यान कायम राख्न पटक–पटक सिँचाइ गर्नुपर्ने समस्या थियो। अहिले भने उनले मल्चिङ प्रविधि प्रयोग गर्दै आएका छन्। यसले झारपात नियन्त्रण गर्न, माटोको चिस्यान जोगाउन र खेती व्यवस्थापनलाई सहज बनाउन सहयोग गरेको उनको अनुभव छ।
तरकारी खेतीसँगै बृजलालले तरकारीको नर्सरीसमेत सञ्चालन गर्दै आएका छन्। आफ्नै खेतका लागि बिरुवा उत्पादन गर्नुका साथै अन्य किसानलाई समेत बिरुवा उपलब्ध गराउने गरेका छन्।
बृजलालका लागि तरकारी खेती केवल पेशा मात्र होइन, परिवारको भविष्य बदल्ने माध्यमसमेत बनेको छ। तरकारी खेतीबाटै उनले आफ्ना छोरा–छोरीलाई ब्याचलरसम्मको शिक्षा दिन सफल भएका छन्।
“खेतीमा प्रविधि प्रयोग गर्न जानियो भने मेहनत घटाउन सकिन्छ, उत्पादन बढाउन सकिन्छ र आम्दानी पनि राम्रो हुन्छ,” उनी भन्छन्।
दुई दशकको खेती अनुभव बोकेका बृजलाल अहिले परम्परागत खेतीभन्दा प्रविधिमैत्री र व्यावसायिक खेतीतर्फ किसानहरू अघि बढ्नुपर्ने बताउँछन्। उनको खेत अहिले उत्पादनसँगै नयाँ पुस्ताका किसानका लागि सिकाइको थलोसमेत बन्दै गएको छ।






















