राजापुर, बर्दिया । राजापुर नगरपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचाको अन्तिम मस्यौदा प्रमाणीकरणका लागि कार्यशाला गोष्ठी आयोजना गरेको छ। ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत आयोजित कार्यशाला राजापुरमा सम्पन्न भएको हो।
कार्यशालामा स्थानीय स्तरमा देखिने विपद्का जोखिम, त्यसबाट हुन सक्ने सम्भावित क्षति तथा विपद् सामना गर्ने समुदायको क्षमता र सुदृढताका विषयमा छलफल गरिएको थियो। जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखापर्ने जोखिमलाई पहिचान गरी त्यसअनुसार योजना तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको थियो।
कार्यढाँचाको मुख्य उद्देश्य विपद् तथा जलवायु उत्थानशील गतिविधिहरूलाई नगरपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेटमा मूलप्रवाहीकरण गर्नु रहेको जनाइएको छ। त्यस्तै, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र स्थानीय जलवायु अनुकूलन कार्ययोजनाबीच समन्वय कायम गर्दै नगरपालिकाको नीति तथा कार्यक्रममा यसको प्रभावकारी एकीकरण गर्ने लक्ष्य राखिएको छ।
कार्यशालामा राजापुर नगरपालिकाको स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशील कार्यढाँचालाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच सुझाव तथा छलफल गरिएको थियो। स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनका कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाउन कार्यढाँचाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम Climate Resilience Alliance, Swiss Re Foundation, BEE group र Practical Action को सहकार्यमा सञ्चालन गरिएको हो।





















