विज्ञापन

खक्रौलामा १९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई युवा पक्राउ

Image

टीकापुर | खक्रौला क्षेत्रमा प्रहरीले खैरो हेरोइन ओसारपसारको शंकामा चेकजाँच गर्दा दुई युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार भारततर्फबाट आउँदै गरेको से १ ह २२११ नम्बरको अटोमाथि शंका लागेपछि प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुर को संयुक्त टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा अटोमा सवार दुई जना युवक भाग्ने प्रयास गरेका थिए। प्रहरीले केही बेरमै उनीहरुलाई लखेटेर नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा तेज बहादुर विटालु र साहेन नेपाली रहेका छन्। उनीहरुको साथबाट १९ दशमलव १६० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिना ले जानकारी दिनुभयो।

कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक बलराम बडु को कमाण्ड तथा इलाका प्रहरी कार्यालय टीकापुरबाट शादा पोशाकमा खटिएको प्रहरी टोलीले उक्त अपरेशन सफल बनाएको बताइएको छ।

यसैबीच गोदावरी नगरपालिका को मेन रोडस्थित तिलक वलीले सञ्चालन गरेको आरबी होटलमा प्रहरीले छापा मार्दा १२० मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। दैनिकजसो युवाहरु लागूऔषधसहित पक्राउ पर्न थालेपछि युवा पुस्ता कुलतमा फस्दै गएको भन्दै प्रकाश डाँगी ले अभिभावक र नागरिक समाजको सहकार्य बिना लागूऔषध नियन्त्रण कठिन हुने बताउनुभयो।

विज्ञापन
विज्ञापन
विज्ञापन