बढैयाताल — सामुदायिक सुशासन स्थापनाको उद्देश्यले स्थानीय सरकार र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विकास कोष नर्वेको आर्थिक सहयोग, सहकर्मी समाज कोहलपुरको सहजीकरण तथा जनशक्ति विकास समाज बढैयातालको आयोजनामा उक्त कार्यक्रम बढैयाताल गाउँपालिकाको मैनापोखरमा सम्पन्न भएको हो।

जनशक्ति विकास समाजका अध्यक्ष खेमराज विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कृषि, योजना, लेखा, स्वास्थ्य, महिला तथा बालबालिका, पशु सेवा शाखाका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका पालिकास्तरीय प्रमुखहरू तथा जनशक्ति विकास समाज अन्तर्गतका समूह प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको औचित्य र उद्देश्यबारे सहकर्मी समाज कोहलपुरका संस्थागत कार्यक्रम व्यवस्थापन राजाराम गुप्ताले प्रष्ट पारेका थिए। त्यस्तै, जनशक्ति विकास समाजको स्थापना, हालसम्मका गतिविधि, चुनौती, उपलब्धि, सिकाइ तथा संस्थागत संरचनाबारे कार्यक्रम व्यवस्थापक दीपक थारूले सहजीकरण गरेका थिए।
जनशक्ति विकास समाज समुदायमा आधारित संस्था भएकाले यसको संरचना तीन तह—समुदायस्तरीय समूह, मूल समिति र संस्था—मा रहेको जानकारी दिइएको थियो। समूह सञ्जालमार्फत सबै सदस्य संस्था प्रतिको उत्तरदायित्वमा रहेर काम गर्ने भएकाले सीमित बजेटमै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिएको जनाइएको थियो।

कार्यक्रममा प्रस्तुत विवरणअनुसार, जनशक्ति विकास समाजले विभिन्न दातृ निकायको आर्थिक सहयोगमा सन् २०२१ देखि २०२५ सम्म कुल १ करोड २१ लाख ६७ हजार ५ सय २२ रुपैयाँ बराबरको बजेटमार्फत बढैयाताल गाउँपालिकाभित्र अन्तरक्रिया, कार्यशाला गोष्ठी, घुम्ती कोषमार्फत व्यवसायिक गतिविधि सञ्चालन गर्दै विपन्न तथा सिमान्तकृत परिवारको आयआर्जन, सशक्तीकरण र पोषण सुरक्षामा काम गर्दै आएको छ।
अन्तरक्रियाका क्रममा सहभागीहरू निशा थारू, फुलाराम थारू, सिता थारू, जोखु मगता, भंगी राम थारू, पुतली विक, बिन्दु पौडेल तथा राजनीतिक दलका प्रतिनिधि प्रेमराज त्रिपाठी, राजेन्द्र सिंह लामिछाने लगायतले शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण, रोजगारी सिर्जना, सेवा प्रवाह र सुशासनका विषयमा स्थानीय सरकारका प्रतिनिधि र कर्मचारीसँग प्रश्न उठाएका थिए।

उठेका जिज्ञासामा योजना शाखा प्रमुख उसमान साई, कृषि शाखा प्रमुख दीपेन्द्र श्रीवास्तव, कार्यपालिका सदस्य चन्द्रकला विक, वडा अध्यक्ष तेजनाथ पौडेल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू र गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बुँदागत रूपमा जवाफ दिएका थिए।
जनशक्ति विकास समाजले सन् २०२१ यता शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, पोषण तथा सशक्तीकरणका क्षेत्रमा समुदायमा आधारित भएर निरन्तर काम गर्दै आएको जानकारी पनि कार्यक्रममा दिइएको थियो।























