विज्ञापन

सत्ती भन्सारद्वारा आठ महिनामा ९ करोड ६२ लाख राजश्व सङ्कलन

Image

टीकापुर / कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलाले चालु आर्थिक वर्षको आठ महिनामा ९ करोड ६२ लाख ४१ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ।

भन्सार कार्यालयले वार्षिक लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गरेको हो। चालु आर्थिक वर्ष २०८२र०८३ मा १५ करोड ८४ लाख ४९ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले फागुन मसान्तसम्म ९ करोड ६२ लाख ४१ हजार रुपैयाँ राजश्व उठाएको जनाएको छ।

भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीका अनुसार साउन महिनामा १ करोड २८ लाख ९० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको भए पनि ६३ लाख ३७ हजार रुपैयाँ मात्र उठ्न सकेको थियो।

उनका अनुसार सबैभन्दा बढी राजश्व मंसिर महिनामा सङ्कलन भएको छ। मंसिरमा १ करोड २१ लाख १० हजार रुपैयाँ लक्ष्य रहेकामा १ करोड ६७ लाख ७४ हजार रुपैयाँ अर्थात् लक्ष्यको १३८।५१ प्रतिशत राजश्व उठेको थियो।

भन्सार कार्यालयका अनुसार असोज, मंसिर, पुस र माघ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ भने साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्य पूरा हुन सकेको छैन।

भन्सार प्रमुख सोनीले बाँकी चार महिनामा राजश्व सङ्कलनको लक्ष्य पूरा हुने दाबी गरेका छन्। “सामानको आयात कति हुन्छ भन्ने कुराले नै राजश्व सङ्कलन निर्धारण हुन्छ,” उनले भने, “अहिलेसम्म आयातको अवस्था हेर्दा लक्ष्य पूरा हुनेमा ढुक्क छौँ।”

उनले खुला सिमानाका कारण हुने चोरीपैठारीले राजश्व सङ्कलनमा चुनौती थपिएको बताए। साथै भन्सारको स्तरोन्नति गरी क्वारेन्टाइन स्थापना गर्न सके राजश्वमा उल्लेख्य वृद्धि हुने उनको भनाइ छ।

गत आर्थिक वर्षमा भने भन्सारले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको थियो। १२ करोड ७ लाख ३२ हजार रुपैयाँ लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ हजार रुपैयाँ अर्थात् लक्ष्यको ११९ प्रतिशत राजश्व उठेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन