विज्ञापन

धनसिहपुर कृषि सहकारीको १०औँ वार्षिक साधारणसभा सम्पन्न, मानबहादुर ठकुल्ला सचिवमा चयन

Image

टीकापुर | टीकापुर नगरपालिका वडा नं ८, बटनपुरस्थित धनसिहपुर कृषि सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष मंगल चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा वडा नं ८ का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्ला प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रम सहकारीका कोषाध्यक्ष कृष्णा चौधरीको स्वागत मन्तव्यसँगै सुरु भएको थियो। साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष मंगल चौधरीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सहकारीका व्यवस्थापक मुना घर्तिमगरले प्रस्तुत गर्नुभएको थियो।

२०७२ सालमा ३१ जना शेयर सदस्यको ९३ हजार रुपैयाँ शेयर पूँजीबाट सुरु गरिएको यस सहकारीमा हाल ३४६ जना शेयर सदस्य आबद्ध भइसकेका छन्। सहकारीले बीउबृद्धि, मल–बीउ वितरण लगायत कृषि उत्पादन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू गर्दै आइरहेको छ।

साधारणसभामा शेयर सदस्य नया राम बुढा, समाजसेवी पदमराज जैशी, त्रिभुवन माध्यमिक विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष माया साउद, उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्राङ्कुश चौधरी, सहकारीका निवर्तमान अध्यक्ष धनसिह साउद, रानी जमरा कुलरिया सिँचाइ आयोजना (कृषि तर्फ) की प्राविधिक सबिना कुवर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

आज सम्पन्न साधारणसभाले सञ्चालक समितिको सचिव पदमा मानबहादुर ठकुल्लालाई चयन गरेको छ। यसअघि सचिव पदमा रहनु भएका खगेन्द्र प्रसाद उपाध्यायले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन