राजापुर / राजापुरमा आइतबार ६१ औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बालबालिकाहरूले सचेतनामूलक ¥यालीसहित चित्र प्रदर्शनी गरेका थिए।
राजापुर बजार परिक्रमा गरिएको ¥यालीपछि बालबालिकाले शिक्षा, बालविवाहको अन्त्य, बालश्रम उन्मूलन, लागूपदार्थ दुव्र्यसन रोकथाम लगायतका विषयमा संदेशयुक्त चित्र प्रदर्शन गरेका थिए।
दिपज्योती बाल क्लबकी अध्यक्ष सृष्टि थारूले बाल अधिकार सुनिश्चित गर्न सरोकारवालालाई आह्वान गरिन्। सोही अवसरमा कोपिला बाल क्लबकी अध्यक्ष पूर्णिमा थारूले बालबालिकामा आज पर्याप्त लगानी भए भविष्यमा असल नागरिक उत्पादन हुने उल्लेख गर्दै, “बालबालिकालाई गुणस्तरीय शिक्षा दिनु आजको अपरिहार्यता हो,” भनिन्।
बाल क्लबहरूको अगुवाईमा बालविवाह अन्त्य, बालश्रम उन्मूलन, निःशुल्क तथा गुणस्तरीय शिक्षामा पहुँच, सरसफाइ, जलवायु परिवर्तन र त्यसको असर, बालअधिकार संरक्षण जस्ता विषयमा सचेतनामूलक अभियान सञ्चालन भइरहेको आयोजकहरूले जानकारी दिएका छन्।
राजापुर नगरपालिका वडा नं. ३ र ४ अन्तर्गत दिपज्योती बाल क्लब (टेडिया), कोपिला बाल क्लब (रजपुरुवा) र देव बाल क्लब (संघर्षनगर) का ५६ जना बालबालिकाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम एक्सन एड नेपालको आर्थिक सहयोग, कमैया महिला जागरण समाज नेपालको सहकार्य र समुदायस्तरीय बाल क्लबहरूको संयोजनमा सम्पन्न भएको हो।























