विज्ञापन

बढैयाताल गाउँपालिकाले उत्कृष्ट विद्यालय र विद्यार्थीलाई सम्मान

Image

बर्दिया । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बढैयाताल गाउँपालिकाले उत्कृष्ट विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ। भाद्र २३ गते  औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालय र विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो।

गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमध्ये यस वर्षको एसईई परीक्षामा बढी विद्यार्थी उर्तिण गराउने विद्यालय र उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिनुभयो।

गत शैक्षिक सत्रमा गाउँपालिकाका १४ सामुदायिक र ५ संस्थागत गरी १९ विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए। सामुदायिक विद्यालयतर्फ प्रथम हुनेमा वडा नं ८ स्थित भगवती संस्कृत तथा साधारण मावि -(, उर्तिण दर ८४.३८ प्रतिशत), दोस्रो शारदा माध्यमिक विद्यालय (वडा नं ६, मैनापोखर) र तृतीय दिय ज्योति माध्यामिक विद्यालय (वडा नं १, डाँफे) रहेका छन्।

संस्थागत विद्यालयतर्फ कृष्णसार विद्या निकेतन (वडा नं ६, मैनापोखर), बर्दिया एकेडेमी (वडा नं ८, कालिका) र जेनिथ एकेडेमी (जमुनी) ले १०० प्रतिशत उर्तिण गराउँदै प्रथम स्थान हासिल गरेका छन्। दोस्रो स्थानमा शुभकामना एकेडेमी (वडा नं ८, कण्ठपुर) रहेको छ।

विद्यार्थीतर्फ सामुदायिक विद्यालयका पंकज थारु (भगवती संस्कृत तथा साधारण मावि) र झरना न्यौपाने (नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, वडा नं ७, पडरिया) उत्कृष्ट घोषित भए। संस्थागत विद्यालयतर्फ सुजन धामी (कृष्णसार विद्या निकेतन), पुरुषोत्तम शाह (शुभकामना एकेडेमी) र आरोही श्रेष्ठ (बर्दिया एकेडेमी) उत्कृष्ट विद्यार्थीको सूचीमा परेका छन्।

कार्यक्रमका प्रमुख अतिथि निर्वतमान लुम्बिनी प्रदेशसभा सदस्य कविराम थारूले शिक्षामा सुधार ल्याउन सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय सरकारहरूले पूर्वाधार विकासमा बढी जोड दिँदा शिक्षा क्षेत्रमा बजेट कम विनियोजन भएकाले अवस्था कमजोर भएको टिप्पणी गर्नुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, कार्यकारी अधिकृत अर्जुन थारू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सामाजिक विकास समितिका संयोजक तुलराम थारूको सभापतित्वमा सम्पन्न भएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन