बर्दिया – निजी विद्यालयहरूले संघीय संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयकका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै आज बर्दियाको सदरमुकाम गुलरियामा वृहद् खबरदारी सभा गर्ने भएका छन्।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका संस्थाहरूको संयुक्त आयोजनामा आज दिउँसो ११ बजे हुने उक्त सभामा आन्दोलनरत संस्थासँग आवद्ध विद्यालयहरूको अनिवार्य सहभागिता रहनेछ। प्याब्सन बर्दियाका अध्यक्ष बालहरि सुवेदीका अनुसार विधेयकमा निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानमाथि प्रतिकूल असर पार्ने प्रावधानहरू समावेश भएकाले विरोधका कार्यक्रम तीव्र बनाइएको हो।
उनका अनुसार केन्द्रको निर्देशनअनुसार भोलि भदौ १९ गते सञ्चार माध्यमसँग बृहत् अन्तरक्रिया कार्यक्रम, २० र २१ गते तयारी बैठक तथा प्रमुख राजनीतिक दलहरूसँग भेटघाट, २२ गते सरोकारवालासँग अन्तरक्रिया, २३ गते देशभरका निजी विद्यालय सञ्चालकहरूको काठमाडौंमा भेला, २४ गते संघीय सांसदहरूसँग भेटघाट र २५ गते काठमाडौंमा वृहद् आन्दोलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
निजी विद्यालय संगठनहरूले विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधान खारेज गर्न माग गर्दै आएका छन्। तीमध्ये कम्पनी ऐन अनुसार दर्ता भएका विद्यालयलाई गैरनाफामुखी बनाउनुपर्ने प्रावधान, पूर्ण छात्रवृत्ति सम्बन्धी शब्दावली, शैक्षिक सामग्री, पोशाक, यातायात, खानपान सेवामा गरिएको प्रतिबन्ध हटाउनुपर्ने, छात्रवृत्ति वितरण अधिकार विद्यालयमै रहनुपर्ने लगायतका माग उनीहरूले राखेका छन्। साथै, छात्रवृत्तिसम्बन्धी ऐन २०२१ तथा संशोधित प्रावधानमार्फत सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र दिइएको सीटीईभीटी र उच्च शिक्षामा पहुँच दिने व्यवस्था पनि तत्काल खारेज गर्नुपर्ने उनीहरूको अडान छ।
यसअघि पनि निजी विद्यालय संगठनहरूले विरोधका विभिन्न चरणका कार्यक्रम गर्दै आएका थिए। आन्दोलनकै क्रममा भदौ १९ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरिएको भए पनि हाललाई उक्त निर्णय स्थगित गरिएको छ।























