विज्ञापन

सन्देशमूलक होर्डिङ बोर्ड मार्फत दुर्घटना न्यूनीकरणमा सशक्त पहल

Image

गेरुवा / सडक दुर्घटनामा न्यूनिकरण तथा सुरक्षित सवारी संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित गगन सिंह कुँवर फाउण्डेशन नेपालले सचेतनामूलक होर्डिङ बोर्ड हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार गेरुवा गाउँपालिका वडा नं। ३ शान्तिबजारमा आयोजित विशेष कार्यक्रममा इलाका प्रहरी कार्यालय पाताभारलाई सातवटा सन्देशमूलक बोर्डहरू औपचारिक रूपमा हस्तान्तरण गरियो।

“गति सीमित गरौं, सुरक्षा बढाऔं”, “मादक पदार्थ सेवन गरी सवारी नचलाऔं”, “सवारी चलाउँदा गति सँग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौं”, “हेलमेट र सिट बेल्ट सधैं प्रयोग गरौं” जस्ता जनचेतनामूलक सन्देश सहित तयार गरिएका होर्डिङ बोर्डहरू बजार क्षेत्रमा राखिने छन्। कार्यक्रमकै दौरान इलाका प्रहरी कार्यालय पाताभारले सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिका खेलेको भन्दै फाउण्डेशनका संरक्षक तथा प्रमुख सल्लाहकार तर्क बहादुर कुँवरलाई सम्मानपत्र प्रदान गर्यो। त्यसैगरी, पीडितहरूको आवाज मिडियामा ल्याउने तथा संस्थाको स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ‘गेरुवा अपडेट’ का सञ्चालक पुष्कर काफ्लेलाई पनि सम्मान गरियो।

गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीले फाउण्डेशनले सडक सुरक्षाको क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै सामाजिक कार्यमा निरन्तरता दिनुपर्ने बताउनुभयो। “यस्ता कार्यले जनचेतना अभिवृद्धि गर्छन्, पालिकाबाट आवश्यक सहयोग गर्न हामी तयार छौं,” उहाँले भन्नुभयो।वडा नं ३ का वडा अध्यक्ष निर्मल चौधरीले बर्दिया क्षेत्रमा काम गरिरहेको फाउण्डेशन आफ्नो वडाको गौरवको विषय भएको जनाउँदै, होर्डिङ बोर्ड हस्तान्तरणले मानव जीवन रक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। इलाका प्रहरी कार्यालय पाताभारका वरिष्ठ प्रहरी नायब निरीक्षक गणेश बहादुर सिंहले फाउण्डेशनको सहयोगले ट्राफिक दुर्घटनाको उच्च जोखिम भएका क्षेत्रहरूमा सचेतना फैलाउने अवसर प्राप्त भएको बताउनुभयो। कार्यक्रममा बोल्दै फाउण्डेशनका संरक्षक तर्क बहादुर कुँवरले भन्नुभयो, “बजार क्षेत्रमा गति सीमित गर्न, चालकहरूलाई सन्देश दिनका लागि बोर्डहरू तयार पारिएका हुन्। यस्ता अभियानले जनचेतना जगाउने र दुर्घटना न्यूनीकरण गर्ने विश्वास लिएको छु।”

कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं २ का वडा अध्यक्ष कृष्ण थारु, वडा न ४ का अध्यक्ष महेन्द्र थारु, अस्थायी ट्राफिक प्रहरी पोस्ट पाताभारका इन्चार्ज हर्दिष खत्री, गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामी, शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष तुलस्थ प्रसाद खनाल, उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारु, सचिव तपेन्द्र बहादुर थापा, समाजसेवी प्रेम रावल, बुद्धिजीवी तथा सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गेरुवा–५ सुखाड निवासी शेर बहादुर कुँवर र उहाँका दाजु तर्क कुँवरले स्व। पिताको सम्झनामा गगन सिंह कुँवर फाउण्डेशन स्थापना गरेका हुन्। फाउण्डेशनले बेसहारा, सिमान्तकृत, अल्पसंख्यक समुदायलाई सक्षम नागरिक बनाउन सचेतनामूलक कार्यक्रम, सीपमूलक परियोजना, आयमूलक तालिम, साथै अक्षयकोष, मुष्ठिदान, असहाय कोष जस्ता सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ।

गगन सिंह कुँवर फाउण्डेशन नेपालले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सडक सुरक्षामा अभूतपूर्व योगदान पुर्याएको छ। यस्तो अभियानले जनतामा सचेतना फैलाउनुका साथै सवारी दुर्घटनाको दर घटाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ।

विज्ञापन
विज्ञापन
विज्ञापन