बर्दिया अस्पताल गुलरियामा सर्पदंशबाट गम्भीर अवस्थामा पुगेकी ९ महिने बालिकालाई बाल राेग विशेषज्ञ डा. विश्वनाथ शाहको टिमले नयाँ जीवन दिएको छ ।
अस्पतालमा कार्यरत डा. शाहको नेतृत्वमा रहेको चिकित्सक टोलीले सर्पदंशबाट जीवन–मरणको दोसाँधमा पुगेकी जिल्लाको मधुवन नगरपालिका वडा नं. ८ कुसुम्बा बजार स्थित क्रिस्चियन फाँटाको सिर्जना सुनार नाम रहेकी ९ महिने बालिकालाई ७ दिन सम्म भेन्टिलेटरमा राखि सफल उपचार गरी नयाँ जीवन प्रदान गरेको हो ।
बालिकाको शरीरमा विषको असर फैलिएर सांस फेर्न नसक्ने अवस्थामा अस्पताल ल्याईएको कुरा डा. शाहले बताउनुभयो । उहाँले अत्यन्त गम्भीर अवस्थामा अस्पताल ल्याइएकी ती बालिकाको घरपरिवारलाई के भएको हो थाहा नभएपछि चेकजाँच गर्दा सर्पदंश भएको ठहर गरी तुरुन्तै इन्टुबेट गरेर भेन्टिलेटरमा राखि उपचार शुरू गरिएको जानकारी गराउनुभयो ।
डा.शाहले भन्नभयो, उनका परिवार आत्तिएका थिए, रोईरहेका थिए । अवस्था निकै नाजुक भएकोले हाम्रो उपचार पछि उनलाई PICU सुविधा भएको केन्द्रमा रिफर गर्न सल्लाह दियौं, तर परिवारसँग त्यसको लागि आवश्यक रकम नभएकाले अभिभावकको सहमतिमा यहि भेन्टिलेटरमा ७ दिनसम्म राखेर सफल उपचार गर्याै ।
“अवस्था निकै नाजुक थियो, तर हामीले आशा गुमाएनौं । उपचारको क्रममा रातदिन खटिएका टोलीको समर्पण, नर्सहरूको सेवा र परिवारको साथले बालिकाको ज्यान जोगाउन सम्भव भयो” उहाँले कृतज्ञतासाथ उल्लेख गर्नुभयो ।
हाल बालिका पूर्ण रूपमा स्वस्थ रहेको बताउँदै बाजे परिमल सुनारले आफुसँग प्रयाप्त रकम नभएका कारण PICU सुविधा भएको केन्द्रमा रिफर गर्न असमर्थ हुँदा यहि अस्पतालमा डा.शाहको टिमले नातिनीको धेरै राम्रो उपचार गरेकोमा डा.शाहको टिम सहित बर्दिया अस्पतालका सम्पूर्णमा आभार प्रकट गर्नुभयो ।
बर्दिया अस्पतालले पछिल्ला केही वर्षयता जटिल केसहरूको सफल उपचार गर्दै जनविश्वास बढाइरहेको छ । यो सफलताले अस्पतालप्रति जनगुनासो भन्दा अगाडि आशा र भरोसा थपेको छ ।























