विज्ञापन

राजापुर–८ मा सामूहिक बिउ उत्पादन कार्यक्रम सञ्चालन, १२८ कृषक सहभागी

Image

राजापुर / कृषकको आय वृद्धि र उत्पादन प्रणालीमा आत्मनिर्भरताको लक्ष्यसहित राजापुर नगरपालिका वडा नं ८ ले ‘कृषकसँग वडा सरकार’ अभियान अन्तर्गत सामूहिक बिउ उत्पादन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा ल्याएको छ। आर्थिक वर्ष २०८१/०८२ का लागि वडाले यो कार्यक्रमका लागि रु ४ लाख बजेट विनियोजन गरेको हो।

कार्यक्रम अन्तर्गत वडाका विभिन्न टोल र किसान समूहहरूबाट १२८ जना कृषकहरू छनौट गरिएका छन्। उनीहरूले कुल ६० बिघा खेतमा धानको बिउ उत्पादन गरिरहेका छन्। यो कार्यक्रमले किसानहरूलाई न केवल सहुलियतमा कृषि सामग्री उपलब्ध गराएको छ, तर उत्पादन बिक्रीका लागि समेत निश्चित व्यवस्था मिलाएको छ, जुन स्थानीय सरकारले किसानसँग गरेको दिगो साझेदारीको संकेत हो।

कार्यक्रममार्फत सहभागी कृषकहरूलाई ६० प्रतिशत अनुदानमा धानको बिउ, रासायनिक मल, झारनाषक तथा कीटनाशक विषादी उपलब्ध गराइएको छ। बाँकी ४० प्रतिशत लागत किसानले आफैं व्यहोरेका छन्। यसरी, लागत घटाएर किसानको उत्पादनशक्ति बढाउने कार्यक्रमको मूल उद्देश्य हो।

यस कार्यक्रममा सहभागी हुनका लागि किसानले आफ्नै खेतमा कम्तीमा तीनपटक खेती गर्नुपर्ने अनिवार्य सर्त राखिएको थियो। यो सर्तले वास्तविक रूपमा कृषिमा संलग्न किसानलाई प्राथमिकता दिएको तथा सरकारी सहयोगको सही लाभ लक्षित समुदायमा पुग्ने सुनिश्चित गरेको देखिन्छ।

बिउ उत्पादनपछि त्यसको विक्रि प्रक्रिया किसानहरूका लागि चुनौतीपूर्ण हुने गरेको अवस्थामा, राजापुर वडा नं ८ ले एक सहुलियतपूर्ण र सुरक्षात्मक योजना अघि सारेको छ। कार्यक्रम अन्तर्गत उत्पादन गरिने धानको बिउ गणेश बाबा एग्रोसिड कम्पनीले खरिद गर्ने गरी समझदारी गरिएको छ।

यस सहमतिको कारण, किसानले बिउ उत्पादन गरेपछि बजार खोज्नुपर्ने टेन्सनबाट मुक्त हुनेछन्। साथै, तय मूल्यमा बिउ बेच्न सकिने भएकाले कृषकलाई निश्चित आम्दानीको ग्यारेन्टी समेत प्राप्त हुनेछ।

वडाध्यक्ष राजकिरण थारुले बताए अनुसार, “यो कार्यक्रम केवल एक वर्षको योजना होइन, यसले दीर्घकालीन रूपमा कृषकलाई व्यवसायिक बनाउने, बिउमा आत्मनिर्भरता ल्याउने र भविष्यमा अन्य वडाहरूमा समेत विस्तार हुने सम्भावना बोकेको कार्यक्रम हो।” उनले थपे, “कृषि उपजमा आत्मनिर्भर नबनी आर्थिक रुपान्तरण सम्भव छैन। यस अभियानबाट हामीले किसानलाई सीप, स्रोत र बजार तीनै पक्षबाट सशक्त बनाउने प्रयास गरेका छौं।”

कार्यक्रममा सहभागी फत्तेपुरका कृषक गोपाल प्रसाद थारु भन्छन्, “पहिला बिउ खोज्न गोडा घिसाउनु पर्थ्यो, अब वडा आफैंले बिउ र मल दियो अनि बेच्ने व्यवस्था पनि मिलायो। यस्तो कार्यक्रम गाउँमै भइरहुन्।”कृषकहरूबीच यो कार्यक्रमले सकारात्मक प्रतिक्रिया ल्याएको छ। सामूहिक खेतीको अभ्यासले गाउँमा सहकार्य, तालमेल र कृषि सहजीकरणमा समेत नयाँ अभ्यासहरू सुरू भएको छ।

‘कृषकसँग वडा सरकार’ कार्यक्रम अन्तर्गत गरिएको यो पहलले केवल बिउ उत्पादन मात्र होइन, किसानको आत्मबल, आर्थिक स्थिति र सामाजिक सशक्तिकरणमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने देखिन्छ। यदि यस्तो कार्यक्रम देशभरका स्थानीय तहहरूले अंगाल्न सके, कृषि क्षेत्रको आधुनिकीकरण र ग्रामीण समृद्धि सम्भव हुनेमा कुनै शंका छैन।

विज्ञापन
विज्ञापन
विज्ञापन