विज्ञापन

सुनचाँदी व्यवसायीहरूको सात बुँदे मागसहित बर्दियामा विरोध प्रदर्शन

Image

बर्दिया, जेठ ३० गते

बर्दियाकाे गुलरियामा सात बुँदे माग सहित सुन चाँदी व्यवसायीहरूले विराेध प्रदर्शन गरेका छन् ।

उनीहरूले २०८२/०८३ को बजेट मार्फत सरकारले सुनमा लगाएको कर र भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम र सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियमावली निर्माण गर भन्दै विराेध प्रदर्शन गरेका हुन् ।

उक्त विराेध प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडि गएर काेण सभामा परिणत भएको थियो । व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण समेत गराएका थिए ।

काेण सभा पश्चात् गरिएकाे पत्रकार सम्मेलनमा नेपाल सुनचाँदी व्यवसायी संघ बर्दियाका अध्यक्ष विष्णु कुमार सुनारले सात बुँदे मागहरूबारे जानकारी गराउँदै सुन तथा गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज, हिरा-जवाहरातमा लागू गरिएको १३ प्रतिशत भ्याट प्रति पुनर्विचार, सुनचाँदी कारोबार प्रोत्साहन गर्न दीर्घकालीन ऐन, नियम तथा नीति निर्माण, कर संरचना परिवर्तन गर्नु पूर्व विस्तृत प्रभाव अध्ययन, भारत सरह नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम, गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्य प्रणाली लागू र निर्यातमा लाग्ने २.५ प्रतिशत टीडीएस खारेजकाे मागहरू रहेकाे बताउनुभयाे ।

उहाँले गत वर्षको तुलनामा सुनको मूल्यमा प्रतितोला ५० हजार रुपैयाँले वृद्धि भइसकेको अवस्थामा व्यवसायीहरू करका थप संरचना स्वीकार्न नसकिने धारणा राख्नुभयाे ।

यसै गरी बर्दिया सुनचाँदी ब्यवसायी संघ बर्दियाका अध्यक्ष हर्क बहादुर सुनारले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मुख्य विषयहरू सार्वजनिक गर्नुभयो। उहाँले “हामी कर छली होइन, कर सुधारको माग गरिरहेका छौं । आम उपभोक्ताको पहुँचमा गहना उपलब्ध गराउने वातावरण बनाउन राज्यले सकारात्मक भूमिका खेल्नुपर्छ” भन्नुभयाे ।

विज्ञापन
विज्ञापन
विज्ञापन