
राजापुर / आजका बालबालिका भोलिका कर्णधार हुन । बालबालिकाको स्वास्थ्य राम्रो भएमा भोलिका दिनमा औषधि उपचारमा अनावश्यक खर्च गर्नुपर्दैन भने उनिहरु पढाइ लगायत व्यक्तिगत जिवनमा अव्वल हुन्छन। अभिभावकले आफ्नो बालबालिकाको सतप्रतिशत ख्याल राखेकै हुन्छ तर पनि समुदायमा अज्ञानवश कतिपय बालबालिका कुपोषणको शिकार हुन पुग्छन। कुपोषण भएका बालबालिकाहरूलाई अन्य रोग सजिलै लाग्ने गर्दछ। यसरी बच्चा कुपोषित भएमा अभिभावकले र राज्यका संयन्त्रले पनि दुख पाउछ। यसबाट बच्नका लागि समयमै चेकजाँच गरी उपचार चलाए छुटकारा पाउन सकिने अभिप्रायले राजापुर नगरपालिकाले ९ वटा स्थानमा बृहत कुपोषण चेकजाँच शिविर सचांलन गरेको छ र सो शिविर मा ९४३ वटा बालबालिका को चेकजाँच गरिएको छ।
जाचिएका बच्चा मध्ये ९१५ वटा बच्चाको पोषण अवस्था सामान्य पाइयो , १८ वटा बच्चा जोखिममा पाइए भने १० वटा बच्चा अति जोखिमपूर्ण भेटिएको राजापर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी गराउनु भयो ।
जोखिममा परेका १८ वटा बालबालिका लाइ स्वास्थ्यकर्मीको सल्लाहमा राखिने छ। अभिभावकहरुलाइ सन्तुलित भोजन एवं दिनचर्या र सरसफाईको बिषेश ध्यान राख्न सुझाव दिइएको छ भने १० वटा अति जोखिमपूर्ण बालबालिका लाइ चिकित्सकको निगरानीमा ४२ दिन सम्म राखेर पौष्टिक आहार लगायतका बिधिले उपचार गरिने छ। ४२ दिनसम्ममा पनि सुधार नआए गुलरिया, नेपालगञ्ज लगायतका अस्पतालमा रेफर गरिने स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले थप्नु भयो ।
मध्यम एव निम्न आय भएका परिवारले बालबालिका लाइ राम्रो देखभाल गर्न , औषधोपचार गर्न चाहेता पनि बिबिधकारणले चुकी रहेको हुन्छ र जसको फलस्वरूप कुपोषण जस्ता रोगको शिकार हुन पुग्छ। राजापुर नगरपालिकाले आफ्ना बालबालिकाको स्वास्थ्य चेकजाँच सम्बन्धी कार्यक्रम चलाइदिदा र चेक गराउन पाउदा अभिभावकहरु हर्षित भएका थिए। रा.न.पा. ५, जयपुर की सिता कुमारी थारु आफनो टोलमा बालबालिकाको कुपोषण चेकजाच शिविर आउने थाहा पाए पछि सबै काम थाति राखेर बच्चा लिएर आइन । चेकजाचमा उनको बच्चामा कुपोषण नभएको पाइएपछि उनि ढुक्क भएर राजापुर नगरपालिका स्वास्थ्य शाखालाइ धन्यबाद दिदै घरतर्फ लागिन ।
राजापुर नगरपालिकाको बिभिन्न ९ स्थानमा सन्चालन गरिएको पोषण मापन कार्यक्रम मा एन्थ्रोपोमेट्रिक ,बायोकेमिकल, क्लिनिकल र आहार सम्बन्धी गरी ४वटा बिधी बाट चेकजाँच एव निदान गरिएको थियो।





























