राजापुर | राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सहजीकरणमा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत आवद्ध विभिन्न समूहका किशोरीहरूले आफूहरूले परियोजनामार्फत आर्जन गरेका ज्ञान, सीप र अनुभवहरू एक–अर्कासँग साझा गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी किशोरीहरूले सीखेका व्यवहारिक कौशल, सामाजिक चेतना र व्यक्तिगत विकासका अनुभवहरू खुलस्त राख्दै समुदायमै सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रम राजापुर नगरपालिका वडा नं ९ का अध्यक्ष बिष्णु प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा वरिष्ठ नर्सिङ अधिकृत देवी ज्ञवाली तथा वडा नं ८ की सचिव सृजना अधिकारी विशेष अतिथि रहेका थिए। अतिथिहरूले किशोरीहरूमा बढ्दो नेतृत्व क्षमता, आत्म–पहिचान र अधिकारप्रतिको जागरूकतालाई उदाहरणीय भन्दै परियोजनाले समुदायमा ल्याइरहेको प्रभाव प्रशंसा गरे।
परियोजना सञ्चालन भइरहेका वडा नं ३ देखि १० सम्मका किशोरीहरूले समूहगत प्रस्तुतीमार्फत आफूहरूले हालसम्म सिकेका विषयहरू सार्वजनिक गरे। उनीहरूले लैङ्गिक समानता, बालअधिकार, आत्मविश्वास विकास, आत्म–सुरक्षा, मासिक स्वास्थ्य व्यवस्थापन, निर्णय क्षमता, तथा नेतृत्व सीप जस्ता विषयमा अनुभव र बुझाइ साझा गरे। सहभागीहरूले परियोजनाले आफूहरूमा बोल्ने हिम्मत, अभिव्यक्ति दिन सक्ने क्षमता, र सामाजिक मुद्दामा नेतृत्व गर्ने प्रेरणा भरिदिएको बताए।
कार्यक्रममा सहभागी किशोरीहरूले आगामी दिनमा परियोजना अझ प्रभावकारी बनाउनका लागि विभिन्न सुझाव पनि अघि सारे। प्रशिक्षण सामग्रीलाई अझ अद्यावधिक गर्ने, व्यवहारिक अभ्याससहितका सत्र थप्ने, र समुदायस्तरमा किशोरीहरूको आवाज सुनिनेसहितका प्लेटफर्म विस्तार गर्ने सुझाव प्रमुख रूपमा प्रस्तुत गरियो। उनीहरूले स्थानीय तह, विद्यालय तथा अभिभावकहरूको थप सहकार्य भए कार्यक्रमको प्रभाव अझ गहिरो हुने विश्वास पनि व्यक्त गरे।
कार्यक्रमले राजापुरका विभिन्न वडाका किशोरीहरूलाई एउटै मंचमा ल्याउँदै उनीहरूको सीप, नेतृत्व र सामाजिक चेतनालाई सुदृढ बनाउन मद्दत गरेको आयोजकहरूले बताए। बालिका सशक्त परियोजनाले समुदायमा रहेको लैङ्गिक विभेद, आत्मविश्वास अभाव र सीमित अवसरको चुनौतीलाई सम्बोधन गर्दै किशोरीहरूलाई सशक्त बनाउन निरन्तर काम गरिरहेको छ।
कार्यक्रमको सञ्चालन राधाकृष्ण थारु जनसेवा केन्द्रका फिल्ड सुपरभाइजर रेनु चन्दले गर्नुभएको थियो भने सहजीकरण परियोजना अधिकृत मनोज पौडेलले गर्नु भएको थियो। आयोजकले कार्यक्रमले किशोरीहरूबीच ज्ञान आदान–प्रदानको संस्कृतिलाई मजबुत बनाउँदै समुदायमै सकारात्मक परिवर्तनको लहर फैलाउने विश्वास व्यक्त गरेका छन्।























