विज्ञापन

लुम्बिनी प्रदेश सभा सचिवालयले दोस्रो कार्यकालका उपलब्धि सार्वजनिक

Image

देउखुरी /लुम्बिनी प्रदेश सभा सचिवालयले सातौँ अधिवेशन अघि दोस्रो कार्यकालमा सम्पन्न प्रमुख काम, कर्तव्य र उपलब्धिहरू सार्वजनिक गरेको छ। सोमबार देउखुरीमा आयोजित पत्रकार सम्मेलनमार्फत विधेयक प्रक्रिया, समिति गतिविधि, प्रशासनिक प्रगति र अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी विवरण प्रस्तुत गरिएको हो।

सचिवालयका अनुसार दोस्रो कार्यकालमा १९ विधेयक दर्ता भएका मध्ये १५ पारित भए । तीमध्ये १४ विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन्। दुई विधेयक सदनमा प्रस्तुत हुन बाँकी छन्, दुई लगतकट्टा भएका छन् भने एक विधेयक प्रदेश प्रमुखबाट फिर्ता भएको छ। यस अवधिमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कार्यान्वयनमा आएका छन्।

वार्षिक नीति–कार्यक्रम, बजेट र विधेयक निर्माणमा सचिवालय सक्रिय रहेको र जनमैत्री तथा प्रभावकारी प्रदेश सभा निर्माण दीर्घकालीन लक्ष्य रहेको जानकारी दिइयो। भौतिक संरचना, प्रशासनिक तथा आर्थिक व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र सदस्य सेवा–सुविधामा नियमित कार्य भइरहेको सचिवालयले जनाएको छ।

सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानून, कृषि–वन– वातावरण, भौतिक पूर्वाधार, सामाजिक विकास, अर्थ–उद्योग–पर्यटन र विशेषाधिकार समितिले आफ्नो कार्यक्षेत्रअनुसार छलफल, अनुगमन र निर्देशनको काम गर्दै आएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासमा मुख्यतः चालु खर्च मात्र भएको र पूँजीगत खर्च सुरु हुन बाँकी रहेको बताइयो।

‘प्रदेश सभामा पहुँच कार्यक्रम’ अन्तर्गत २५० भन्दा बढी विद्यार्थी र शिक्षकले प्रदेश सभाको अवलोकन गरेका छन्। साथै ‘शासन अन्तर्राष्ट्रिय नेपाल’ सँगको सहकार्यमा संसदको खुलापन, पहुँच र अभ्यासबारे सांसद, पत्रकार, निजी क्षेत्र र नागरिक समाजबीच कार्यक्रम सम्पन्न गरिएको प्रवक्ता लोकमणी पाण्डेले जानकारी दिए।

विज्ञापन
विज्ञापन
विज्ञापन