दाङ–देउखुरीको लमहीमा सामुदायिक वन समूहका अगुवाहरूलाई लक्षित एकदिने कार्यशाला सम्पन्न भएको छ। नेपाल पंक्षी संरक्षण संघ काठमाडौं र डिभिजन वन कार्यालय देउखुरीको संयुक्त आयोजना भएको कार्यक्रममा चुरे र पश्चिम राप्ती सिमसार क्षेत्रमा पाइने आप्रवासी चराहरूको संरक्षणलाई सामुदायिक वन कार्ययोजनामा कसरी समावेश गर्ने भन्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमका परियोजना अधिकृत भूपाल नेपालीका अनुसार, सामुदायिक वन समूहहरूले जैविक विविधता र चरा संरक्षणलाई योजना निर्माणमा प्राथमिकतापूर्वक समेटोस् भन्ने उद्देश्यले कार्यशाला आयोजित गरिएको हो। उनले संघद्वारा सञ्चालित परियोजनाहरू, महत्त्वपूर्ण चरा क्षेत्र तथा जैविक विविधताको अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरे।
सहायक वन अधिकृत ध्रुवप्रसाद थारूले सामुदायिक वन समूहले बनाउने वा संशोधन गर्ने कार्ययोजनामा चरा संरक्षणलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने बताए। सहभागी पदाधिकारीहरूले आगामी कार्ययोजनामा चरा संरक्षणलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पंक्षी संरक्षण संघको जीविकोपार्जन तथा संरक्षण समन्वय कार्यक्रम अन्तर्गत गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाका सात सामुदायिक वन समूहका करिब २५ जना प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रम संघका फिल्ड अधिकृत पृथ्वी चौधरीले सञ्चालन गरेका थिए।























