राजापुर/ राजापुर नगरपालिका वडा नं. ६ले यस वर्ष पनि एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। बिगतका वर्षहरूमा झैं, यस पटक पनि एक जना छात्र र एक जना छात्रालाई नगद पुरस्कार सहित सम्मान गरिएको हो।
वडा अन्तर्गत रहेको मानपुर माध्यमिक विद्यालय वडाको एक मात्र माध्यमिक विद्यालय हो। सो विद्यालयबाट यस वर्ष कुल ५४ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका थिए। तीमध्ये छात्रतर्फ प्रिसांग थारुले ३.६२ जीपीए र छात्रातर्फ दिपिका थारुले ३.६३ जीपीए ल्याउँदै उत्कृष्ट नतिजा हासिल गरेका हुन्।
उत्कृष्ट विद्यार्थीहरूलाई वडा कार्यालयले जनही रु. १०,५०० नगद पुरस्कार प्रदान गरेको वडा अध्यक्ष असराज न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार यस्तो सम्मानले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रतिस्पर्धात्मक भावना जागृत गर्ने उद्देश्य राखिएको छ।
वडाले विगतदेखि नै शिक्षाको स्तर सुधार र विद्यार्थीहरूलाई प्रेरित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।























