विज्ञापन

बढैयातालमा यस वर्ष ५ सय ४९ बालिकालाई एचपिभि खोप लगाइँदै

Image

बढैयाताल/ बर्दियाको बढैयाताल गाउँपालिका भित्र रहेका ५ सय ४९ जना बालिकालाई यस वर्ष एचपिभि ९ज्एख्० खोप लगाइने भएको छ। पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि माघ २५ गतेदेखि २९ गतेसम्म अभियानको रूपमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

गाउँपालिकाभित्रका विद्यालयहरूमा माघ २५ गते र विद्यालय बाहिर रहेका बालिकाहरूलाई माघ २६ गतेदेखि खोप लगाइने स्वास्थ्य शाखा बढैयातालले जनाएको छ। विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाई प्राथमिक रूपमा खोप दिइनेछ भने यसअघि खोप छुटेका माथिल्ला कक्षाका बालिकाहरूलाई पनि समेटिने स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो।
त्यसैगरी, विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई माघ २९ गतेसम्म नजिकका स्वास्थ्य संस्थामार्फत खोप लगाइने उहाँले बताउनुभयो। लुम्बिनी प्रदेशभर नै माघ २५ देखि २९ गतेसम्म एचपिभि खोप अभियान सञ्चालन हुने जानकारी पनि उहाँले दिनुभयो।

स्वास्थ्य शाखा बढैयातालको तथ्याङ्क अनुसार, गत वर्ष बढैयाताल गाउँपालिका भित्रका विद्यालयका कक्षा ६ देखि १० सम्मका तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका गरी २ हजार ४ सय ८४ जनालाई एचपिभि खोप लगाइएको थियो।

बर्दिया जिल्लाका विभिन्न स्थानमा गरिएको स्क्रिनिङ्गका क्रममा पाठेघरको मुखको क्यान्सरका बिरामी फेला पर्ने गरेका छन्। उपलब्ध तथ्याङ्क अनुसार, नेपालमा हरेक दिन औसत चार जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने गर्दछ भने हरेक वर्ष करिब १ हजार ३ सय १३ महिलाको ज्यान जाने गरेको छ।

भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभि खोप अत्यन्त प्रभावकारी रहेको बढैयाताल पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष हिमालय त्रिपाठीले बताउनुभयो। समितिको आयोजनामा सम्पन्न सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा उहाँले लक्षित समूहका सबै बालिकाहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गर्दै अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
यस्तै, बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले सबै बालिकाहरूलाई निर्धक्कका साथ खोप लगाउन प्रेरित गर्न प्रचार–प्रसारमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो।

बढैयाताल गाउँपालिकाको आयोजनामा आज सम्पन्न खोप अभियान अभिमुखीकरण कार्यक्रममा खोप के हो, किन आवश्यक छ, खोप नलगाउँदा हुने जोखिम तथा पाठेघरको मुखको क्यान्सर के हो र कसरी हुन्छ भन्ने विषयमा स्वास्थ्यकर्मी रमेश पौडेलले अभिमुखीकरण गर्नुभएको थियो। कार्यक्रम स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

विज्ञापन
विज्ञापन
विज्ञापन