विज्ञापन

सन्तुलित भोजनमा जोड : राजापुर नगरपालिका वडा ५, ७ र ८ मा पोषण मापन अभियान

Image

राजापुर | राजापुर नगरपालिका वडा नं ५, ७ र ८ मा बालबालिकाको स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले पोषण मापन कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत ती वडामा रहेका बालबालिकाको तौल तथा उचाइ मापन गरी उनीहरूको पोषण अवस्था मूल्याङ्कन गरिएको हो।

पोषण मापनका क्रममा रातो र पहेंलो रेखामा परेका जोखिमयुक्त बालबालिकालाई लक्षित गरी पोषण सामग्री वितरण गरिएको थियो। वितरण कार्यक्रममा अन्डा, घिउ, चना र साबुन गरी करिब १५ सय रुपैयाँ बराबरको सामग्री सम्बन्धित वडाका अध्यक्षहरूको रोहबरमा बालबालिकाका अभिभावकलाई हस्तान्तरण गरिएको हो।

सो अवसरमा सम्बन्धित वडाका आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्जहरूले अभिभावकहरूलाई सन्तुलित तथा पोषणयुक्त भोजनको महत्वबारे जानकारी गराउँदै बालबालिकाको दैनिक खानपानमा स्थानीय र पौष्टिक खाद्य वस्तु समावेश गर्न आग्रह गरे। साथै प्रदान गरिएका सामग्री सीमित मात्रामा रहेकाले सहयोगभन्दा पनि पोषणप्रतिको चेतना र राम्रो खानपानको बानी विकास गर्नका लागि वितरण गरिएको स्पष्ट पारिएको थियो।

कार्यक्रमले बालबालिकाको पोषण अवस्था समयमै पहिचान गरी कुपोषणको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा सञ्चालन गरिएको पोषण मापन कार्यक्रममा राजापुर नगरपालिकाले बालबालिकाको स्वास्थ्य र पोषणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई आउदादिनहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन