बढैयाताल / नेपाल सरकारको आरोग्य कार्यक्रम अनुसार योग शिक्षा विद्यालयसम्म लैजाने उद्देश्यले बढैयाताल गाउँपालिका आयुर्वेद शाखाले दुई दिने योग प्रशिक्षण सम्पन्न गरेको छ।
मंसिर १०–११ मा मैनापोखरमा गरिएको प्रशिक्षणमा गाउँपालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयका १६ जना प्रधानाध्यापक तथा स्वास्थ्यरशारीरिक शिक्षा शिक्षक सहभागी रहे।
गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीका अनुसार बालबालिकामा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न हप्तामा एक पिरियड योग कक्षा सञ्चालन गर्न शिक्षकलाई प्रारम्भिक योग अभिमुखीकरण दिइएको हो।
कार्यक्रममा आयुर्वेदिक तथा आरोग्य कार्यक्रमबारे जमुनी आयुर्वेदिक औषधालय प्रमुख नविन चौधरीले जानकारी बाँडे भने योगगुरु लोकराज पाण्डेले सहजीकरण गरेका थिए।
समापनमा नेपाल सरकारद्वारा उपलब्ध आयुर्वेद तथा योग निर्देशिका सहभागी विद्यालयका प्रमुखलाई हस्तान्तरण गरिएको थियो।























