राजापुर–८ मा सुत्केरी महिलालाई घरमै गएर पोषण सामग्री वितरण सुरु, ५० हजार बजेट विनियोजन
राजापुर, बर्दिया — राजापुर नगरपालिका वडा नं ८ ले आर्थिक वर्ष २०८२र०८३ का लागि सुत्केरी महिलाहरूको पोषण सुधारका उद्देश्यले घरमै गएर अण्डा, फलफुल लगायतका पोषण सामग्री वितरण गर्ने कार्यक्रम सुरु गरेको छ।
शुक्रवार, असोज २४ गते वडाध्यक्ष राजकिरण थारू स्वयं सुत्केरी महिलाको घरमै पुगेर पोषण सामग्री हस्तान्तरण गर्नुभएको हो। उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरूले सुत्केरीहरूको स्वास्थ्य परीक्षण समेत गरेका छन्, जसअन्तर्गत रक्तचाप, तौल र सामान्य स्वास्थ्य अवस्था जाँच गरिएको थियो।
वडाध्यक्ष थारूका अनुसार, “यो कार्यक्रम सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य र पोषण सुधारतर्फ वडाको सानो तर महत्त्वपूर्ण कदम हो।”
वडाले पूरा वर्षभर वडाभित्र जन्मिएका शिशुका घरमा गएर पोषण सामग्री वितरण गर्ने योजना बनाएको छ। यस कार्यक्रमका लागि वडा कार्यालयले ५० हजार रुपैयाँको बजेट विनियोजन गरेको जनाएको छ।
स्थानीय बासिन्दाहरूले वडाको यो पहललाई सराहना गर्दै मातृ–शिशु स्वास्थ्यका यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सुझाव दिएका छन्।






















