राजापुर – प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा राजापुर नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लबको सहकार्यमा सञ्चालित ग्रिन इकोनोमी परियोजना अन्तर्गतका कार्यहरूको शुक्रबार अनुगमन गरिएको छ। यस परियोजनाले स्थानीय समुदायमा रोजगारी सिर्जना, महिला सशक्तीकरण र वातावरणमैत्री उत्पादन प्रवर्द्धनमा महत्वपू्र्ण भूमिका खेलिरहेको नगरपालिकाले जनाएको छ।
अनुगमन टोलीको नेतृत्व राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले गरेका थिए। सो क्रममा उपप्रमुख मनकला चौधरी, वडा नं ६ का अध्यक्ष असराज न्यौपाने, वडा नं ७ का अध्यक्ष रामु थारु, वडा नं ८ का अध्यक्ष राजकिरण थारु, वडा नं १० का अध्यक्ष शिवलाल थारु, वडा नं ५ का सदस्य निरज चौधरी, योजना शाखा प्रमुख रमेश पोख्रेल, कृषि विकास शाखा प्रमुख तुलाराम चौधरी, उद्यम विकास शाखा प्रमुख पुर्ण ओली लगायतका जनप्रतिनिधि तथा अधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
अनुगमनकै क्रममा वडा नं ७ को भालुफाँटा टोलमा विशेष कार्यक्रम राखी महिला तथा बालबालिका बेचबिखन रोकथाम, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र सामाजिक समस्याको समाधानबारे विस्तृत छलफल गरिएको थियो। स्थानीय महिलाहरुले यस्तो परियोजनाले उनीहरूलाई सचेत र आत्मनिर्भर बन्न मद्दत गरेको अनुभव सुनाए।
परियोजनाअन्तर्गत बाँसजन्य सामग्री उत्पादनका लागि स्थानीय महिलालाई तालिम र आवश्यक सामग्री उपलब्ध गराइएको छ। महिलाहरुले सिकेको सीपलाई प्रयोगमा ल्याउँदै विभिन्न सामग्री उत्पादन सुरु गरेका छन्। उत्पादनलाई बजारमा बिक्री गरी उनीहरूले आयआर्जन सुरु गरेको समेत अनुगमन टोलीले अवलोकन गरेको छ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै हरित अर्थतन्त्र (green economy) को अवधारणा व्यवहारमै उतार्न मद्दत गरेको छ।
कार्यक्रममा नगरप्रमुख दिपेश थारुले महिला उद्यमशीलता र आर्थिक आत्मनिर्भरता मार्फत लैंगिक समानता प्रवर्द्धनमा परियोजना सहायक हुने विश्वास व्यक्त गरे। उनले वातावरणमैत्री उत्पादनलाई प्राथमिकतामा राखेर नगरपालिकाले आगामी दिनमा थप कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए।
उपप्रमुख मनकला चौधरीले महिला सशक्तीकरणलाई दीर्घकालीन विकासको आधार मान्दै यस्तो परियोजनाले महिलाको जीवनस्तर उकास्न ठोस योगदान दिने बताइन्। अन्य जनप्रतिनिधिहरुले पनि स्थानीय तहमा भएका यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
ग्रिन इकोनोमी परियोजनाबाट महिलाले सीप सिक्नुका साथै परिवारको आय बढाउन थालेका छन्। यसले उनीहरूलाई आर्थिक रूपले सबल बनाउन मात्र नभई समाजमा आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिएको छ।























