बढैयाताल/ अब बढैयाताल गाउँपालिकाका नागरिकले आँखाको उपचारका लागि टाढा जानुपर्ने दिन समाप्त हुँदैछ। नेत्र स्वास्थ्य सेवा सर्वसुलभ बनाउने लक्ष्यसहित बढैयाताल गाउँपालिका–६ स्थित उच्चा मैनापोखरमा नयाँ आखाँ उपचार केन्द्र औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।नेत्र ज्योति संघ बर्दियाको प्राविधिक सहकार्यमा स्थापना गरिएको उक्त केन्द्रले प्रारम्भिक आँखाको जाँच, परामर्श सेवा तथा स्वास्थ्य शिक्षा प्रदान गर्नेछ। पहिलो चरणमा मैनापोखर सामुदायिक भवनबाट सेवा सुरू गरिएको हो।
उक्त केन्द्रको बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले उद्घाटन गरे। कार्यक्रममा उनले भवन निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा ४० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको जानकारी दिए। छिट्टै स्थायी संरचना निर्माण गरी मोतियाबिन्दु शल्यक्रिया जस्ता सेवा थपिनेछ,चौधरीले बताए।
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले गाउँपालिकाले ३ कठ्ठा जग्गा उपलब्ध गराएको जानकारी दिँदै सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेटको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे। हामी स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा ल्याउन प्रतिबद्ध छौं। यो केन्द्र नियमित रूपमा सञ्चालनमा रहेमा करिब ५० हजार जनसंख्या लाभान्वित हुनेछन्, त्रिपाठीले बताए।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, नेत्र ज्योति संघ बर्दियाका अध्यक्ष कमान सिंह ओली, सदस्य गोविन्द ज्ञवाली वडा नं ६ का अध्यक्ष शुक्रराज सापकोटा, क्याम्पस अध्यक्ष प्रेमराज त्रिपाठी, वडा सदस्यहरू, सामुदायिक वनका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमकै अवसरमा निशुल्क आँखाको शिविर पनि सञ्चालन गरिएको थियो, जहाँ स्थानीय बासिन्दाले प्रारम्भिक जाँच सेवा लिएका थिए।
केन्द्रले आगामी महिनाहरूमा स्थायी संरचना निर्माण गरी शल्यक्रिया, चस्मा वितरण, दृष्टि परीक्षण, बृद्धकालीन आँखाका रोगहरूको उपचार सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। यो कदमले गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराउने उदाहरणीय प्रयासका रूपमा हेरिएको छ।






















