विज्ञापन

तराइमै फल्न थाले स्याउ, राजापुरमै पनि व्यावसायिक उत्पादनको अवसर

Image

राजापुर/ सामान्यतः स्याउलाई पहाडी र चिसो मौसममै फल्ने फलको रूपमा बुझ्ने प्रचलन छ । नेपाली कृषकहरूको धेरैले स्याउ खेती भन्नासाथ मुस्ताङ, जुम्ला, सोलुखुम्बुजस्ता पहाडी जिल्लाहरूको कल्पना गर्छन् । तर, पछिल्लो समयमा कैलालीका एक किसानले तराइमै स्याउ फलाएर यो सोचाइलाई बदल्न थालेका छन् ।कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं। ९, प्रतापपुरका किसान गोर्कण ओली ले आफूले प्रयोगात्मक रूपमा सुरु गरेको स्याउखेतीले आश्चर्यजनक सफलता देखाएपछि अहिले उनका बारी हेर्नकै लागि सर्वसाधारणदेखि विज्ञसम्मको लर्को लाग्ने गरेको छ।

विगत तीन वर्षअघि उनले १२ सय बोट हर्मन ९९ प्रजातिको स्याउ रोपेका थिए। यो स्याउ प्रजाति विशेषगरी तराइको तातो मौसममा समेत फल्ने क्षमतायुक्त भएको बताइन्छ। ओलीका अनुसार, “यो जातको बिरुवा रोपेको दुई वर्षमै फल दिन थाल्छ। माघमा फूल फुल्छ र जेठमा टिप्न सकिने अवस्था आउँछ।” उनका अनुसार उत्पादन राम्रो मात्र होइन, बिक्री पनि सहज भएको छ। “बजार खोज्न जानै परेन, बारीमै मान्छे आउँछ, आफैं किनेर लैजान्छन्,” ओली भन्छन्। स्याउको स्वाद, बनावट र ताजापनले उपभोक्ताहरू आकर्षित भइरहेका छन्।

हर्मन ९९ प्रजातिको स्याउ यति सक्षम छ कि ४८ डिग्री सेल्सियससम्मको तापक्रममा समेत सफलतापूर्वक उत्पादन दिन सक्छ। कृषिविज्ञहरूको सल्लाहअनुसार गरिएको यो खेती अब देशभरका अन्य समशीतोष्ण क्षेत्रका लागि पनि उदाहरण बन्न पुगेको छ।

राजापुरमा पनि सम्भावना
राजापुर नगरपालिका कृषि शाखा प्रमुख तुलाराम चौधरी का अनुसार, हर्मन ९९ प्रजातिको स्याउ राजापुरजस्ता तातो क्षेत्रमै पनि उत्पादन गर्न सकिने सम्भावना प्रष्ट देखिएको छ। “गोर्कण ओलीले गरेको सफल प्रयोगबाट प्रेरणा लिँदै राजापुरका किसानहरूले पनि यो खेतीलाई अपनाउने हो भने आम्दानीको नयाँ स्रोत बन्न सक्छ,” चौधरी बताउँछन्। उनका अनुसार राजापुरमा भूमि, सिंचाइ र श्रमशक्ति पर्याप्त भएकाले यस्तो उन्नत जातका फलफूल खेतीहरू सहजै फैलिन सक्नेछन्। साथै, कृषकहरूको आय वृद्धि र कृषि उत्पादनको विविधिकरणका लागि यो निकै उपयुक्त हुने उनको धारणा छ।

यस्तो नविन प्रयासलाई प्रोत्साहन गर्न स्थानीय सरकार, प्रदेश सरकार र बागवानी प्रवर्द्धन गर्ने निकायहरूले प्राविधिक सहकार्य, अनुदान तथा तालिम कार्यक्रमहरू संचालन गर्नुपर्ने आवश्यकता पनि अब देखिन थालेको छ। कृषक गोर्कण ओलीजस्ता नवीन सोच राख्ने किसानहरूको साथ र सफलता हेरेर अरू किसानहरूमा पनि प्रेरणा र आत्मबल वृद्धि हुने निश्चित छ। त्यसैले, अब स्याउ केवल पहाडमा फल्ने फल मात्र होइन भन्ने प्रमाणित भइसकेको छ। तराइमा पनि व्यावसायिक स्याउ खेतीको सम्भावना प्रष्ट देखिएको छ, सर्त केवल इच्छाशक्ति, परिश्रम र सही प्रविधिको प्रयोग मात्र हो।

विज्ञापन
विज्ञापन
विज्ञापन