प्रयागपुर — राजापुर नगरपालिका वडा नं ३, प्रयागपुरले सामाजिक न्याय र सहानुभूतिको सन्देश फैलाउँदै वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका व्यक्ति तथा द्वन्द्व पीडितहरूलाई लक्षित गर्दै झुल वितरण कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक समावेशिता र सम्मानको भावनालाई आत्मसात गर्दै सञ्चालित उक्त कार्यक्रममा कुल ७०० जनालाई झुल प्रदान गरिएको वडाध्यक्ष प्रसादु चौधरीले जानकारी दिनुभयो। उहाँले भने, “यस अभियानमार्फत हामी वडाका ती नागरिकप्रति कृतज्ञता प्रकट गर्न चाहन्छौं, जो वर्षौंदेखि समाजमा मौन भूमिका निभाइरहनुभएको छ। सम्मानस्वरूप प्रदान गरिएको झुल उहाँहरूका लागि मायाको अनुभूति मात्रै नभई, राज्यबाट आएको आत्मीयताको संकेत हो।”
झुल वितरण कार्यक्रममा वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी लाभग्राहीहरूले यस्तो कार्यले आफूहरूलाई राज्यले सम्झेको अनुभव भएको भन्दै खुसी व्यक्त गरे। एक लाभग्राही एकल महिलाले भनिन्, “हामीजस्ता पछाडि पारिएका वर्गका लागि यस्तो सानो सहायताले पनि ठूलो महत्व राख्छ। यस्तो कार्यक्रम निरन्तर हुनुपर्छ।”
वडाले यसअघि पनि सामाजिक सुरक्षा भत्ता, अपांगता प्रमाणपत्र वितरण, नागरिकता शिविर लगायतका कार्यक्रम सञ्चालन गरिसकेको छ। वडाध्यक्ष चौधरीका अनुसार आगामी दिनमा पनि वडाले सेवा र सहायताका कार्यक्रमहरू थप सशक्त र नियमित रुपमा सञ्चालन गर्दै लैजाने योजना बनाएको छ।
यस किसिमका कार्यक्रमले सामाजिक समरसता बढाउने मात्र होइन, समाजका पछाडि पारिएका वर्गप्रति स्थानीय सरकारको उत्तरदायित्वप्रति प्रतिबद्धता पनि जनाउँछ।























