टपरा/ राजापुर नगरपालिका वडा न. ६ले सुशासन प्रवद्र्धन तथा उत्तरदायी स्थानिय शासन निर्माणका उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा नं ६ कार्यालयको आयोजना र भौराटप्पा मिडिया प्रा.लि.को सहजीकरणमा सम्पन्न भएको सो सार्वजनिक सुनुवाईमा जनप्रतिनिधि, कर्मचारी, स्थानिय, महिला स्व. सेवक, बरघर, द्धन्द पिडित, प्रधानाध्यापक, ज्येष्ठ नागरिक लगायतको उपस्थिती थियो ।
राजापुर नगरपालिका वडा न. ६को हलमा भएको कार्यक्रममा स्थानियहरुले बिबिध जनचासोका सवालहरु उठान गरेका थिए । लुम्बिनी प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरीका स्वकिय सचिव राम बहादुर बखरियाले टपरा बजारमा बनेको पक्की नालीमा फोहर जम्मा हुदा समस्या भएको बताउनु भएको थियो । फरक क्षमता भएकी शुशिला स्वारले अपाङ्गता भएका व्यक्तिका लागी वडाले पहल गर्नु पर्ने मनसायको पत्र आफुले ६ महिना पहिले बुझाएता पनि पहल नभएको गुनासो गर्नु भएको थियो । बरघर धनिराम चौधरीले बिगतमा आफ्नो टोलमा बिजुलीको पोल भाचिदा वडा कार्यालयले सहयोग नगरेकाले बिद्युतलाई पैसा तिरेर पोल सार्न बाध्य भएको गुनासो पोखेका थिए । चेतराम थारुले महुवा टोलको ग्रावेल सडक पुरा नबनेको र केराका बोक्रा बाट रेशा निकाल्ने मशिन महगोंमा वितरण गरेको लगायतका गुनासाहरुलाई वडाअध्यक्ष असराज न्योपाने, प्राबिधिक, वडासचिव लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमको उद्देश्य
कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय सरकारलाई पारदर्शी, जवाफदेही र सहभागी बनाउने थियो। स्थानीय स्तरमै जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको आवाज नीतिगत र कार्यान्वयन तहसम्म पुर्याउने प्रयासस्वरूप यस्तो सार्वजनिक सुनुवाई गरिएको हो।
सार्वजनिक सुनुवाईको महत्त्व
यस्ता कार्यक्रमले जनप्रतिनिधि र जनताबीचको दूरी कम गराउने, जनविश्वास बढाउने र सेवाप्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ। सहभागी स्थानीय नागरिकले पनि यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।






















