गुलरिया, माघ १० / “हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मूल नाराका साथ माइती नेपाल बर्दियाले बिहीबार गुलरियामा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ। मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणका लागि आयोजित कार्यक्रममा माइती नेपाल बर्दियाले सन् २०१६ देखि हालसम्म गरेका गतिविधिहरूको विवरण प्रस्तुत गरेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले माइती नेपाल बर्दियाले मानव बेचबिखन नियन्त्रणमा उदाहरणीय काम गरेकोमा धन्यवाद व्यक्त गरे। उनले बर्दिया जिल्लामा रहेका अन्य संघसंस्थाहरूमध्ये माइती नेपालले विशेष योगदान पुर्याएको बताए।
माइती नेपाल बर्दियाको रेकर्ड अनुसार सन् २०२४ मा जोखिमपूर्ण यात्रामा सिमानाबाट ३३५ जनालाई उद्धार गरी आवास गृहमा राखी आवश्यक परामर्श प्रदान गरिएको छ। उद्धार गरिएकामध्ये १८ वर्षमुनिका २३७ जना र १८ वर्षमाथिका ९८ जना रहेका छन्।
माइती नेपाल गुलरिया बर्दियाकी संयोजक गायत्री रिमालका अनुसार ३९० जनालाई मानव बेचबिखन र सुरक्षित बसाइसराइबारे जानकारी दिँदै पारिवारिक पुनर्मिलन गराइएको छ। साथै, श्रम र यौन शोषणमा परेका तीन जनाको उद्धार गरिएको छ।
घरेलु हिंसाका ३९ घटनामध्ये ३७ घटनाको समाधान गरिएको छ। बेचबिखनसम्बन्धी चार वटा मुद्दा दर्ता भई आवश्यक सहयोग प्रदान गरिएको छ भने जबरजस्ती करणीसम्बन्धी ५३ मुद्दामा परामर्श र सहयोग गरिएको छ।
मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे जानकारी दिन १८,५७५ जनासँग संवाद गरिएको छ। किशोरकिशोरीहरूलाई लक्षित गरी ५०८ जनालाई विशेष परामर्श दिइएको छ।
माइती नेपालले गुलरिया नगरपालिका, बाँसगढी, मधुवनलगायतका नगर तथा गाउँपालिकामा सक्रियताका साथ काम गरेको छ। जातीय आधारमा उद्धार गरिएका ३३५ जनामध्ये जनजातिका १३४, दलितका ८३, ब्राह्मण(क्षेत्रीका ७७ र आदिवासीका ४१ रहेका छन्।
शिक्षाको आधारमा उद्धार गरिएकामध्ये ३२ जना निरक्षर, १७७ जना माध्यमिक तह उत्तीर्ण, र ७ जना स्नातक तहसम्म अध्ययन गरेका छन्।
माइती नेपाल बर्दियाले रोकथाम, उद्धार र पुनःस्थापनाका क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ। बर्दिया जिल्लाभित्र मात्र होइन, अन्य जिल्लाबाट आई जोखिममा परेकाहरूलाई उद्धार गरी नयाँ जीवन दिने प्रयासले माइती नेपालको कार्य प्रभावकारी साबित भएको रिमालको भनाइ छ।
मानव बेचबिखनको जोखिम रोक्न सामूहिक प्रयासको आवश्यकता रहेको आयोजकहरूले बताए। माइती नेपालले आगामी दिनमा पनि यस क्षेत्रमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।























