दौलतपुर| राजापुर नगरपालिका वडा नं१, दौलतपुरमा अवस्थित सफल कृषि सहकारी संस्थाको १२औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष तथा सञ्चालक समितिको अध्यक्षतामा सम्पन्न साधारण सभामा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु प्रमुख अतिथि तथा वडा नं। १ का अध्यक्ष बाबुराम थारु विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, भावी योजना तथा किसान केन्द्रित कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहकारीका सेयर सदस्य, कृषक, स्थानीय अगुवा तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख दिपेश थारुले स्थानीय सरकार र सहकारीबीचको सहकार्य नै दिगो विकासको आधार भएको उल्लेख गर्नुभयो। उहाँले नगरपालिकाले सहकारीहरूसँग मिलेर स्थानीय नागरिकको जीविकोपार्जन सुधार, पोषण अवस्था मजबुत र स्वास्थ्य सचेतना वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
नगरप्रमुख थारुले नगरपालिकाले सुरु गरेको गर्भवती महिलालाई ६० दिनसम्म प्रतिदिन एक लिटर निःशुल्क दूध वितरण कार्यक्रम सहकारीहरूसँगको सहकार्यबाट सम्भव भएको बताउँदै यसले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथि वडा नं। १ का अध्यक्ष बाबुराम थारुले सहकारी सञ्चालकहरूलाई सञ्चालकको मात्र फाइदा नभई सम्पूर्ण सेयर सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। सहकारीको सफलता सेयर सदस्यको विश्वास, पारदर्शिता र सामूहिक सहभागितामा निर्भर हुने भन्दै उहाँले सहकारीलाई अझ अनुशासित, जवाफदेही र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो।
साधारण सभामा प्रस्तुत तथ्यांकअनुसार सफल कृषि सहकारीमा हाल ५७२ जना सेयर सदस्य आबद्ध छन्। सहकारीको कुल सेयर पूँजी २४ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ भने १ करोड २९ लाख ८४ हजार ४३७ रुपैयाँ बराबरको ऋण लगानी गरिएको छ। सहकारीले पशुपालन, दुग्ध उत्पादन, कृषि व्यवसाय र स्वरोजगार प्रवर्द्धनमा ऋण लगानी गर्दै आएको जानकारी दिइयो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सहकारीले पछिल्लो समय सुरु गरेको छुर्पी उत्पादन कार्यक्रमलाई लिइयो। राजापुर क्षेत्रमा जाडो याममा दूध नबिक्ने दीर्घकालीन समस्यालाई समाधान गर्ने उद्देश्यले राजापुरमै पहिलो पटक व्यावसायिक छुर्पी उत्पादन सुरु गरिएको सहकारीले जनाएको छ। यस पहलले दूधको खपत बढाउनुका साथै किसानलाई वर्षभरि स्थिर आम्दानीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सहकारीका सञ्चालकहरूले छुर्पी उत्पादनले स्थानीय बजार मात्र होइन, बाहिरी बजारसम्म पहुँच बनाउने सम्भावना रहेको बताउँदै यसले राजापुर क्षेत्रलाई दुग्धजन्य उत्पादनको नयाँ पहिचान दिने विश्वास व्यक्त गरे।
साधारण सभाको अन्त्यमा सहकारीले आगामी दिनमा कृषक तालिम, प्रविधि हस्तान्तरण, बजार व्यवस्थापन र उत्पादन विविधिकरणमा जोड दिने निर्णय गरेको छ। सहकारी र स्थानीय सरकारबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै स्थानीय किसानको जीवनस्तर उकास्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।























