विज्ञापन

राजापुर–८ मा किसानको आयआर्जन वृद्धि अभियानः ५० प्रतिशत अनुदानमा तोरीको बिउ वितरण सुरु

Image

धोबिनपुर/ राजापुर नगरपालिका वडा नं ८ ले किसानको आयआर्जन वृद्धि र उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यका साथ तोरीखेती प्रोत्साहन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा तोरीको बिउ वितरण गरेको छ। वडास्तरीय यो कार्यक्रम अन्तर्गत यस वर्ष १७० जना किसानलाई समेटी व्यावसायिक रूपमा तोरीखेती विस्तार गर्ने योजना अघि बढाइएको हो।

वडा अध्यक्ष राजकिरण थारुका अनुसार, यस कार्यक्रमले किसानलाई परम्परागत खेती प्रणालीबाट बाहिर निकाल्दै सालमा तीनवटा बाली लगाउने उत्पादन प्रणाली तर्फ प्रोत्साहित गर्नेछ। “पहिले किसानहरूले वर्षमा एक वा दुई पटक मात्रै खेती गर्थे, तर हामीले अब तिनै ऋतुमा बाली लगाएर उत्पादन बढाउने, आयआर्जन गर्ने र आत्मनिर्भर बन्ने लक्ष्य लिएका छौं,” अध्यक्ष थारुले बताए।

यस योजनाअन्तर्गत तोरीखेती गर्ने किसानहरूलाई समूहमा आवद्ध गराई, प्राविधिक सहयोगसहितको तालिम र नियमित अनुगमन सेवा प्रदान गरिने भएको छ। वडाले प्रत्येक समूहमा कृषि प्राविधिक परिचालन गर्ने तयारी गरेको छ, जसले किसानको बाली व्यवस्थापन, रोग–कीरा नियन्त्रण र उत्पादन सुधारका लागि आवश्यक परामर्श दिनेछ।

कार्यक्रमले किसानहरूलाई तोरीखेतीपछि सोही खेतमा चैते धान वा मकै लगाउन अनिवार्य गरेको छ। यसरी निरन्तर खेती हुँदा जमिनको उत्पादकत्वमा वृद्धि हुने र किसानले वर्षभरि आफ्नो खेतलाई उपयोगमा ल्याउन सक्ने बताइएको छ।

वडा कार्यालयका अनुसार, यस अवधारणाको मुख्य उद्देश्य कृषि उत्पादनमा आत्मनिर्भरता, आयआर्जनमा स्थायित्व र गाउँमै रोजगारीको सिर्जना हो। “सालमा तीन वटा बाली लगाउँदा उत्पादन बढ्ने मात्र होइन, किसानको जीवनस्तर पनि उकासिन्छ,” वडा अध्यक्ष थारुले थपे।

यसैबीच, किसानहरू पनि यो पहलप्रति उत्साहित देखिएका छन्। राजापुर–८ का किसान बिष्णु थारुले भने, “पहिले हामी वर्षमा दुईचोटि मात्रै खेती गर्थ्यौं, बाँकी समय जमिन रित्तो रहन्थ्यो। अब भने वडाको सहयोगमा तेस्रो बाली पनि लगाउने मौका मिलेको छ, जसले आम्दानी बढ्ने विश्वास गरेका छौं।”

राजापुर नगरपालिकाले पछिल्ला वर्षहरूमा कृषिलाई प्राथमिकता क्षेत्रका रूपमा लिँदै आएको छ। नगरपालिकाले वडास्तरमै कृषक समूहहरू गठन गरेर बिउ, मल, औजार, तालिम र बजार व्यवस्थापनमा सहयोग पुर्‍याइरहेको छ।

स्थानीय तहको यो कदमले किसानहरूलाई आधुनिक र बहुबाली खेती प्रणालीमा रूपान्तरण गर्न र गाउँको अर्थतन्त्र सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन