भजनी, कैलाली । मुक्त कमैया, कम्लहरी तथा हलिया पुनःस्थापना कार्यविधि कार्यान्वयनका लागि भजनी नगरपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ । असोज ११ गते आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला संघसंस्था तथा मुक्त कमैयाहरुको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख केवल चौधरीले मुक्त कमैया आन्दोलनका अगुवाहरुलाई स्मरण गर्दै कार्यविधि कार्यान्वयनमा चुनौती भए पनि संगठनको सक्रियताले सहज बनाउन सकिने बताउनुभयो । उहाँले घर निर्माणका लागि उपलब्ध गराउनुपर्ने काठ र नगद रकम वितरणमा ढिलाइ भएको स्वीकार गर्दै पालिका प्रमुखको हैसियतले पूर्ण प्रतिवद्धता जनाउनुभयो।
नगर उपप्रमुख राजु तिरुवाले कार्यविधि बनेसँगै मुक्त कमैया तथा कम्लहरीहरुको पहिचान र पुनःस्थापनामा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अघिल्ला वर्षमै वृत्तिविकास तथा आयआर्जनका लागि बजेटको व्यवस्था गरिएको स्मरण गर्दै सीपमूलक र व्यावसायिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
त्यस्तै, नगर प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष विक्रम चौधरीले नगरपालिकाबाट ११८ जना मुक्त कमैयालाई सहयोग रकम विनियोजन गरिएको तर कानुनी अवरोधले कार्यान्वयनमा चुनौती आएको उल्लेख गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर उपलब्ध गराउन आवश्यकतामा जोड दिनुभयो।
वडा नं. ७ का अध्यक्ष अमर बहादुर कठरियाले सो वडामा २२० मुक्त कमैया मध्ये ११२ जनाले सेवा सुविधा प्राप्त गरिसकेको तर अझै ८०÷९० जना छुटेको जानकारी दिनुभयो।
मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले कार्यविधि तत्काल कार्यान्वयनको माग गर्दै वडा स्तरमा छलफल गरी छुट कमैयाको पहिचान, परिचय पत्र वितरण र पुनःस्थापना अघि बढाउन जोड दिनुभयो। सोही अवसरमा कमैया महिला जागरण समाज नेपालको अध्यक्ष कृष्णी थारुले भजनी नगरपालिकाले सकारात्मक पहल गरिरहेको प्रशंसा गर्नुभयो।
भजनी नगरपालिकाले सुदूरपश्चिम प्रदेशको कार्यविधिमा आधारित भई मुक्त कमैयाको लगत संकलन, पुनःस्थापना तथा वृत्ति विकासका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। सो कार्यविधि २०८२ असार २५ गते प्रमाणिकरण भई २७ गते स्थानीय राजपत्रमा प्रकाशित भएको हो।
कार्यक्रम एक्सन एड नेपालको सहयोग, भजनी नगरपालिकासँगको समन्वय, कमैया महिला जागरण समाज नेपाल र मुक्त कमैया समाज भजनी कैलालीको आयोजनामा सम्पन्न भएको हो। सभाध्यक्षता मुक्त कमैया समाज नगर समिती अध्यक्ष तेसराम चौधरीले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केवल चौधरी, विशिष्ट अतिथि नगर उपप्रमुख राजु तिरुवा लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा १६ महिला र २७ पुरुषसहित ४३ जनाको सहभागिता थियो।























