बढैयाताल गाउँपालिका वडा नं ६ मैनापोखरमा रहेको कृष्णसार विद्या निकेतन शैक्षिक क्षेत्रको अब्बल तथा उत्कृष्ट विद्यालयको रूपमा स्थापित हुँदै गएको छ । २०६३ सालमा स्थापना भएको यस संस्थागत विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको छ । विद्यालयमा अहिले १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नयाँ इतिहास कायम गर्न सफल भएको छ । यस वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी २६ जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने तीन जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन् । ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा टिका बिके, सुप्रिया सुवेदी र सुगम सुवेदी रहेका छन् ।
एसईई परीक्षामा सतप्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेपछि विद्यालय अहिले यस क्षेत्रकै शैक्षिक हबको रूपमा परिचित बन्दै गएको छ । विद्यालयले हासिल गरेको यो उपलब्धि विद्यालयको शैक्षिक वातावरण, शिक्षक–शिक्षिकाको मेहनत तथा विद्यार्थीहरूको लगनशीलताको प्रतिफल भएको विद्यालयका प्रधानाध्यापक नगेन्द्र भण्डारी ले बताउनुभयो ।
प्रधानाध्यापक भण्डारीका अनुसार ४ जीपीए जस्तो उत्कृष्ट नतिजा विद्यार्थीहरूको अनुशासन, निरन्तर मेहनत, समर्पण र सकारात्मक शैक्षिक वातावरणका कारण सम्भव भएको हो । उहाँले यस वर्षको सफलता आगामी शैक्षिक यात्राको बलियो आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयले हासिल गरेको यस अविस्मरणीय सफलताले विद्यालय परिवार, शिक्षक, अभिभावक तथा सम्पूर्ण स्थानीय समुदायमा गर्व र उत्साह थपिएको छ ।























