विज्ञापन

टीकापुरमा बाढीको कृत्रिम नमुना अभ्यास सम्पन्न

Image

टीकापुर |  कैलालीको टीकापुर नगरपालिका–७ बैदीस्थित कुन्तीपुर गाउँमा बाढीको कृत्रिम नमुना अभ्यास (Mock Drill) कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ईकोल्याब (ECOLAB) परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

वडा सदस्य राजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य आइतीदेवी सुनार, टीकापुर नगरपालिकाको विपद् शाखाकी फोकल व्यक्ति निर्मला चौधरी तथा ईकोल्याब परियोजनाका कार्यक्रम अधिकृत लोटन चौधरीको आतिथ्यता रहेको थियो। कार्यक्रममा समुदायका बढघर, चिराकी, विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।

कृत्रिम घटना अभ्यासमार्फत बाढी आउनुअघि गरिने पूर्वतयारी, सुरक्षित स्थानको पहिचान, उद्धार तथा राहत व्यवस्थापन र बाढीपछिको अवस्थाबारे जानकारी प्रदान गरिएको थियो। पूर्वसूचना कार्यदल, खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल तथा जोखिम लेखाजोखा कार्यदलले आफ्नो जिम्मेवारीअनुसार अभ्यास प्रदर्शन गरेका थिए।

कार्यक्रममा वर्षायाममा आउन सक्ने बाढीजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक कागजात, सुख्खा खाना, आपतकालीन झोला (Emergency Bag) तयार राख्ने, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा कसरी स्थानान्तरण गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास गरिएको थियो।

टीकापुर नगरपालिकाकी विपद् फोकल व्यक्ति निर्मला चौधरीले जोखिमयुक्त समुदायमा यस्ता अभ्यासहरू नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताइन्। सहभागी लिलादेवी मल्लले प्रत्येक वर्ष बाढीबाट क्षति व्यहोर्दै आएको आफ्नो समुदायका लागि यस्तो पूर्वतयारीमूलक अभ्यास अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरिन्।

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कार्यक्रम अधिकृत लोटन चौधरीले कृत्रिम घटना अभ्यासले समुदायलाई विपद् व्यवस्थापनमा सक्षम बनाउने र विपद्को समयमा रेडक्रस सधैं समुदायसँग रहने बताए। उनले ईकोल्याब परियोजनाअन्तर्गत समुदायका लाभग्राहीहरूले पशुपालन तथा अन्य आयआर्जनमूलक व्यवसाय सञ्चालन गरिरहेको जानकारी पनि दिए।

कार्यक्रमका सहजकर्ता भोजबहादुर मान्नीले सम्पूर्ण कार्यदलले प्रभावकारी अभ्यास गरेको भन्दै वास्तविक विपद्को समयमा पनि सोही अनुसार कार्य गर्नुपर्नेमा जोड दिए।

समापनका क्रममा वडा सदस्य राजकुमार चौधरीले बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकहरू स्वयं सचेत र तयारी अवस्थामा रहनुपर्ने उल्लेख गर्दै नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखालाई यस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे।

कार्यक्रममा सहभागी च्याम्पियन, सामुदायिक विपद् व्यवस्थापन समिति (CDMC) का सदस्य, बढघर, चिराकी तथा स्वयंसेविकाहरूलाई पूर्वसूचना, प्राथमिक उपचार तथा खोज–उद्धार सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो।

बाढीको कृत्रिम नमुना अभ्यास कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण ईकोल्याब परियोजनाकी सामाजिक परिचालक अनिता धामीले गरेकी थिइन्।

विज्ञापन
विज्ञापन
विज्ञापन