बाँसगढी— नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बर्दियाले २०८१सालको एस.इ.इ. परीक्षामा उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ।

संघका अध्यक्ष फणिन्द्र प्रसाद ढुङ्गानाको सभापतित्वमा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय समिति सदस्य तथा बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो।
सो अवसरमा राजापुर नगरपालिकामा यसवर्ष सबैभन्दा उच्च जिपिए ल्याएर उत्तीर्ण भएका रिनेसा इ.मि. स्कुलका छात्र गौरवमणी उपाध्याय लगायतलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
प्रमुख अतिथि खड्काले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ परिश्रमपूर्वक अध्ययन गर्न प्रेरित गर्नुभयो। साथै, उहाँले आउँदो तिज पर्वलाई भव्य र सभ्य ढंगले मनाउन सबैलाई आग्रह गर्नुभयो।
सम्मान ग्रहण गर्न छात्र गौरवमणी उपाध्यायका तर्फबाट उपस्थित आमा पूर्णकुमारी ओझाले छोटो समयको परीक्षा परिणामलाई लिएर आत्तिनु वा मात्तिनु नपर्ने बताउनुभयो। उहाँले, “भोलिका दिनमा जीवनमा राम्रो काम गरेरै सबै अव्वल बन्न सकिन्छ,” भन्नुभयो।
समारोहलाई संगठनका जिल्ला सचिव पर्वानन्द न्यौपानेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा हरितालिका तिज विशेष कार्यक्रमसमेत गरिएको थियो भने सहभागीलाई दर खुवाइएको शिक्षक संगठनले जनाएको छ।























