विज्ञापन

राजापुरमा विपद् जोखिम तथा राहत वितरण मापदण्ड मसौदा विषयक छलफल सम्पन्न

Image

बर्दिया – राजापुर नगरपालिकामा  ‘विपद् जोखिम व्यवस्थापन  बिमा तथा राहत वितरण मापदण्ड’ को मसौदा सम्बन्धी विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राजापुर नगरपालिकाको आयोजनामा तथा प्राक्टिकल एक्सनबि ग्रुप को सहकार्यमा गरिएको हो।

छलफल कार्यक्रमको प्रमुख वक्ताका रूपमा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु सहभागी भएका थिए। उनले नगर क्षेत्रमा बारम्बार देखिने विपद् परिस्थिति (जस्तै: बाढी, आगलागी, चट्याङ, डुबान आदिको जोखिम) लाई ध्यानमा राख्दै स्पष्ट, व्यावहारिक र दिगो प्रकारको ‘राहत वितरण मापदण्ड’ तयार गर्नु आजको आवश्यकता रहेको बताए।
“विपद् आएपछि मात्र प्रतिक्रिया जनाउने होइन, पूर्वतयारीमै जोड दिनु पर्छ। नगरस्तरमै मापदण्ड बनेपछि राहत वितरण पारदर्शी र प्रभावकारी हुन्छ,” — नगरप्रमुख थारुको भनाइ।

यसैगरी, राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा ले मापदण्डलाई व्यावहारिक बनाउने प्रक्रियामा सरोकारवाला निकाय र स्थानीय तहका सम्पूर्ण संरचनाहरूलाई समेट्नुपर्नेमा जोड दिए। उनले भने, “प्रत्येक वडाबाट उठेका सुझाव र स्थानीय सन्दर्भअनुसार परिमार्जन गरेर मात्र अन्तिम मापदण्ड लागू गरिनेछ।”

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारी, स्थानीय सरोकारवाला प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले विपद् व्यवस्थापनका क्रममा देखिने समस्या, राहत वितरणका बेला हुने विवाद, स्रोत–साधनको असमानता जस्ता विषयमा आफ्ना सुझाव राखेका थिए।

छलफलमा सहभागी सरोकारवालाले स्पष्ट जिम्मेवारी तोक्ने खालको प्रावधान, राहत वितरणमा प्राथमिकता दिनुपर्ने समुदाय (अत्यन्त विपन्न, अपांगता भएका, एकल महिला, वृद्धवृद्धा आदिलाई प्राथमिकता), विपद् पूर्वतयारीका लागि आपतकालीन कोष व्यवस्थापन, राहत सामग्री वितरणमा द्रुत संयन्त्र तयार गर्ने लगायतका व्यावहारिक बुँदाहरू समावेश गर्न माग गरेका थिए।

कार्यक्रमको निष्कर्षमा राजापुर नगरपालिकाले मसौदा मापदण्डलाई थप परिमार्जन गर्दै वडास्तरिय छलफलमार्फत सुझाव संकलन गर्ने र अन्ततः नगर परिषद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको बताइएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन