बारबर्दिया / बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ मनिकापुरमा रहेको मनिकापुर सामुदायिक वन उपभोक्ता समूहमा वन सम्बर्द्वन प्रणाली लागू हुने भएपछि उपभोक्ताहरू उत्साहित भएका छन् ।
त्यस सामुदायिक वनका उपभोक्ताहरू सम्बर्द्वन प्रणालीले वन क्षेत्रको व्यवस्थापन, संरक्षण र आय(आर्जनमा सुधार ल्याउने अपेक्षा राखि उत्साहित भएका हुन ।
मनिकापुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्रीकृष्ण प्रसाद लामिछानेले २०५४ साल भदौ २७ गते समूहको स्थापना भएको जानकारी दिनुभयो । उहाँले हालसम्म समूहमा आवद्ध १ सय ६६ घरधुरी र ८ सय ३० जना उपभोक्ता रहेको यस सामुदायिक वनमा आफु पटक(पटक गरि १६ वर्ष सर्वसम्मत अध्यक्ष भएको बताउनुभयो ।
अध्यक्ष लामिछाने भन्नुहुन्छ, यस सामुदायिक वनको क्षेत्रफल ९०।६० हेक्टर छ। आय–आर्जनमुखी कार्यक्रमहरू सञ्चालन गर्नका लागि दिगो वन व्यवस्थापन र वन सम्बर्द्वन प्रणाली आवश्यक छ । उपभोक्ताभोक्ता समूहले सामुदायिक वनको आम्दानीलाई सामाजिक कार्यमा खर्चने छ । हामीले ९७ घरधुरीलाई शौचालय निर्माणका लागि सहयोग उपलब्ध गराएको छौं । दिगो वन व्यवस्थापन तथा वन सम्बर्द्वन प्रणाली सम्बन्धि हालै कार्ययोजना पारित भई स्वीकृत भएको छ । यसमा डिभिजन वन कार्यालयले पनि सहयोग गरेको छ ।
सो सामुदाियक वनको कोषाध्यक्ष निम प्रसाद शर्माले सामुदायिक वनलाई नमुना वनको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले यस प्रणालीको सफल कार्यान्वयनबाट विपन्न वर्गको जीवनस्तर सुधार्ने र सुत्केरी महिलाको पोषणका लागि कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।
सल्लाहकार प्रणय वलीले यस प्रणालीको उद्देश्य प्रभावकारी र महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले वन कार्यालयहरू काठको हुनुपर्ने धारणा राख्दै वन सम्बन्धि कानुनी सुधारको आवश्यकता रहेको बताउनुभयो ।
सल्लाहकार वलीले पुराना र उम्रेका रुखहरूले पुनःउत्पादनमा बाधा पुर्याउँछन्, त्यसैले सम्बर्द्वन प्रणालीको कार्यान्वयन अत्यन्तै जरुरी छ, भन्नुभयो ।
समूहकी सदस्य जानकी कार्कीले वन सम्बर्द्वन प्रणाली अन्तर्गत ढलेका ८३ वटा रुखहरू संकलन गरी उपभोक्ताहरूलाई वितरण गर्ने योजना बनाईएको बताउनुभयो ।
यसरी, मनिकापुर सामुदायिक वन उपभोक्ता समूहले स्थानीय स्तरमा वन व्यवस्थापन र विकासलाई नयाँ दिशा दिएको छ र समुदायको दिगो सुधारका लागि प्रतिबद्ध रहेको छ।























