बर्दिया | सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जिल्लाका ८ वटै स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। बढ्दो सवारी चाप र ट्राफिक नियमको अवहेलना कारण दुर्घटना बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले यस्तो अभियान सुरु गरेको हो। यस अभियान मार्फत चालक, सहचालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना, सवारी कागजातको अनिवार्यता र सुरक्षित यात्राको महत्वबारे जानकारी गराउने काम भइरहेको छ।
यसै अभियान अन्तर्गत राजापुरमा पनि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। प्रहरी निरीक्षक सन्दिप बेल्बासेको नेतृत्वमा गरिएको उक्त कार्यक्रममा राजापुर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष, निजी विद्यालयका प्रतिनिधि, स्थानीय व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बजार क्षेत्र तथा मुख्य सडकमा सञ्चालनमा रहेका विभिन्न सवारी साधनहरू रोकेर चालकहरूसँग प्रत्यक्ष संवाद गर्दै ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए।
कार्यक्रमका क्रममा सवारी चालकहरूलाई गाडीको ब्लुबुक, सवारी चालक अनुमति पत्र ९लाइसेन्स०, बीमा लगायतका आवश्यक कागजात साथमै राख्नुपर्ने महत्वका बारेमा जानकारी गराइएको थियो। साथै अत्याधिक गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, ओभरलोड, हेल्मेट बिना मोटरसाइकल चलाउने जस्ता कारणले सडक दुर्घटना बढ्ने भएकाले यस्ता गतिविधि नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको थियो।
सो अवसरमा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई विशेष प्राथमिकतामा राखेर सचेतना प्रदान गरिएको थियो। दैनिक रूपमा धेरै यात्रु बोकेर यात्रा गराउने भएकाले सार्वजनिक सवारी चालकहरूले ट्राफिक नियमको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिइएको थियो। सुरक्षित र सहज यात्राका लागि चालकको जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हुने भएकाले उनीहरूलाई सचेत गराउने प्रयास गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले पनि सडक सुरक्षामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए। ट्राफिक नियमको पालना केवल प्रहरीको जिम्मेवारी मात्र नभई प्रत्येक नागरिकको कर्तव्य भएको भन्दै उनीहरूले चालक तथा यात्रु दुवैले सजग हुनुपर्नेमा जोड दिएका थिए।
यसैबीच अस्थायी ट्राफिक प्रहरी पोस्ट राजापुरका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि चैत्र महिनासम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट ४ लाख २० हजार ५०० रुपैयाँ जरिवाना संकलन भएको छ। सोही अवधिमा राजापुर क्षेत्रमा ३० वटा सवारी दुर्घटना भएको तथ्यांक रहेको ट्राफिक प्रहरीले जनाएको छ।
ती दुर्घटनामध्ये केही दुर्घटना सामान्य रहे पनि ५ जना गम्भीर घाइते भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्। सडक दुर्घटनाका मुख्य कारणमध्ये तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने र सवारी साधनको प्राविधिक अवस्था कमजोर हुनु रहेको ट्राफिक प्रहरीको भनाइ छ।
सडक दुर्घटना घटाउनका लागि ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै स्थानीय तह, विद्यालय, व्यवसायी तथा नागरिक समाजसँग सहकार्य गर्दै सुरक्षित यातायात वातावरण निर्माण गर्ने प्रयास जारी रहने ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ।























