विज्ञापन

मोतिपुर जंगलमा ४४ वर्षीय पुरुष मृत फेला

Image

बढैयाताल |  बढैयाताल गाउँपालिका वडा नं. ६ र बाँसगढी नगरपालिका वडा नं. ६ को सिमाना अन्तर्गत मोतिपुर जंगलस्थित चप्ला नाला पुल मुनि एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक बाँसगढी नगरपालिका वडा नं. ६ नारायणपुर निवासी ४४ वर्षीय प्रकाश थारू रहेको प्रहरीले जनाएको छ।

स्थानीयले फाल्गुन २० गते बिहान नालामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक जानकारी अनुसार मृतक फाल्गुन १९ गते राति करिब १०:३० बजे साइकल लिएर घरबाट निस्किएका थिए।

मृतकका दाजु बुधराम थारूका अनुसार होली पर्वको अवसरमा मदिरा सेवन गरेपछि उनी घरबाट निस्किएका थिए। चप्ला नालामा रहेको साँघुरो पुल पार गर्ने क्रममा अनियन्त्रित भई तल खस्दा मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। घटनामा कसैप्रति शंका नभएको परिवारले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट मृतकले प्रयोग गर्ने साइकल र एक थान मोबाइल फेला परेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन