बर्दिया । इलाका प्रहरी कार्यालय मैनापोखरले माघ २३ गते राति चोरी गर्दै गरेका एक जनालाई रंगेहात पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति बढैयाताल गाउँपालिका वडा नं। ६ मैनापोखर–चप्ला पुल नजिक घर भएका अर्जुन थारु रहेको प्रहरीले जनाएको छ। उनलाई मैनापोखर बजार क्षेत्रका स्थानीयको घरबाट चोरी गरी लैजाँदै गरेको धानका बोरा र कुखुरा सहित पक्राउ गरिएको हो।
प्रहरीका अनुसार अर्जुन थारुले मैनापोखरका एक स्थानीयको घरबाट धानका बोरा चोरी गरी नजिकैको सडक नालीभित्र लुकाएका थिए। त्यसपछि अर्को घरबाट कुखुरा चोरी गर्ने क्रममा स्थानीयले थाहा पाएर होहल्ला गरेपछि उनी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरी ले पक्राउ परेका व्यक्तिसँग अन्य केही व्यक्ति पनि संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। हाल उनलाई प्रहरी हिरासतमा राखिएको छ।
प्रहरीले थारुको घर तलासी गर्दा केही थान तामाका भाँडाकुँडा समेत फेला परेको जनाएको छ।
केही समययता मैनापोखर, सिमरा, तमौलीपुर, रानीपुर, भोलागौडी, जमुनी र सोरहवा आसपासका क्षेत्रमा रातिको समयमा घरमा राखिएका साइकल, धाराका मोटर, घरअगाडि राखिएका तामाका कलश, धानलगायतका सरसामान चोरी हुने घटना बढ्दै गएको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए।
चोरीका घटना बढेसँगै प्रहरीले गस्ती र निगरानी बढाएको जनाएको छ। साथै गाउँ–समाजमा अपरिचित वा शंकास्पद व्यक्ति देखिएमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति विरुद्ध चोरी कसुर अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको छ।






















