बढैयाताल / गए राति बढैयाताल गाउँपालिका–६ मैनापोखर चोक बजारस्थित एक किराना पसलमा भएको चोरी प्रयास कुकुरको सतर्कताका कारण असफल भएको छ।
माघ १९ गते राति करिब १:३० बजेको समयमा मैनापोखर चोकमा रहेको के.सी. जनरल स्टोरको सटरमा लगाइएको ताला तोडी पसलभित्र प्रवेश गर्न खोज्दा चोरी प्रयास भएको हो। तर घरमा पालेको कुकुरले अस्वाभाविक गतिविधि देखेर लगातार आवाज निकाल्दै संकेत गरेपछि चोरी प्रयास विफल भएको हो।
पसल धनी कृष्ण बहादुर के.सी.का अनुसार रातको समयमा सटर अगाडि केही व्यक्तिहरूले ताला तोड्ने प्रयास गर्दा आएको आवाज कुकुरले सुनेर सुत्ने कोठाको ढोकामा लामो समयसम्म ढकढक गरेको थियो। त्यसपछि घरधनी बाहिर निस्कँदा तीन जनाको समूहमा रहेका चोरहरू सटर अगाडि देखिएका थिए। आफू बाहिर निस्कने क्रममा उनीहरू उक्त स्थानबाट भागेर फरार भएको के.सी.ले जानकारी दिए।
घटनास्थलमा चोरहरूले फोडेको ताला अझै देख्न सकिने अवस्थामा रहेको छ। स्थानीयवासीका अनुसार रातको समयमा नियमित प्रहरी गस्ती नहुने भएकाले मध्यरातमा चोरहरूले मौका छोपेर यस्ता गतिविधि गर्ने गरेका छन्। मैनापोखर बजार क्षेत्रमा ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालय रहे पनि रात्री गस्ती प्रभावकारी नदेखिएको गुनासो स्थानीयको छ।
चुनाव नजिकिँदै जाँदा यस क्षेत्रमा अपरिचित व्यक्तिहरूको आवतजावत बढिरहेको भन्दै प्रहरी प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। शंकास्पद वा अपरिचित व्यक्ति देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।























