टीकापुर / टीकापुर नगरपालिका वडा नम्बर ७ मा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ। वडा नम्बर ७ को आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत २०१ जना बालबालिकालाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो।
वडा सदस्य अभिमन्यु द थारुले जानकारी दिएअनुसार जाडोयाममा बालबालिकाको स्वास्थ्य र नियमित पठनपाठनलाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरिएको हो। वितरण कार्यक्रम वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा वडा सदस्य राजकुमार चौधरीले स्वागत मन्तव्य राख्दै बालबालिकाको आधारभूत आवश्यकता पूर्ति गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थिती र सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
वडा नम्बर ७ मा बसोबास गरी विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकामध्ये
सेती मैयाँ चौधरी माध्यमिक विद्यालय, झुङ्गा, भानुभक्त आधारभूत विद्यालय, खक्रौला, कर्णाली माध्यमिक विद्यालय, सत्ती, जनता रामावि, झुङ्गा मा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
स्थानीय अभिभावक तथा विद्यालय प्रशासनले वडा कार्यालयको यो पहलप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि बालमैत्री कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन्।






















