बर्दिया । नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री डा. मदन प्रसाद परियारले मत्स्य कृषकहरूको समस्या गम्भीरताका साथ सुन्दै आफ्नो मन्त्रालय अन्तर्गतका समस्या समाधानका लागि प्रत्यक्ष पहल गर्ने र अन्य मन्त्रालयसँग सम्बन्धित विषयमा सम्बन्धित मन्त्री तथा सचिवहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पौष १९ गते बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ५, जगतपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण इकाइ, बर्दियाद्वारा आयोजित मत्स्य कृषक भेटघाट कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री परियारले क्षेत्रका माछा पालक किसानहरूको समग्र अवस्था, चुनौती र सम्भावनाबारे जानकारी लिनुभएको थियो।
यसै अवसरमा राष्ट्रिय कृषि आधुनिकीकरण इकाइ कार्यालय, बर्दियाले बढैयाताल–५ स्थित कल्पवृक्ष मत्स्य सहकारी संस्थामा सञ्चालन भइरहेको मत्स्य जोन कार्यक्रमको जानकारी तथा उपलब्धी सार्वजनिक गरेको थियो। कार्यक्रम अन्तर्गत बर्दिया जिल्लामा सञ्चालनमा रहेका मत्स्य जोन कार्यक्रमका गतिविधि र प्रगति विवरण इकाइ प्रमुख बिरेन्द्र राज पराजुलीले प्रस्तुत गर्नुभयो।
कार्यक्रममा सहभागी माछा पालक कृषकहरूले खुला सिमानाका कारण भारतीय अवैध माछा भित्रिने, मलखाद्यको अभाव, महँगो विद्युत महसुल, कम भोल्टेजको समस्या, माछाको बजारीकरणमा कठिनाइ, तथा पोखरी मर्मतमा अनुदान नपाएको जस्ता दीर्घकालीन समस्याहरू औंल्याएका थिए। यी समस्या समाधानको माग गर्दै मत्स्य जोन कार्यक्रम सञ्चालन समन्वय समिति, बर्दियाका संयोजक ईन्द्र प्रसाद लुइटेलले मन्त्री परियारलाई ८ बुँदे ज्ञापनपत्रसमेत बुझाउनुभएको थियो।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले मन्त्रालय यस क्षेत्रका माछा किसानका समस्याप्रति सचेत रहेको उल्लेख गर्दै सम्भव भएका कामहरू चालु वर्षमै र बाँकी विषयहरू आगामी वर्षका कार्यक्रममार्फत चरणबद्ध रूपमा समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
यसै क्रममा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले मन्त्री परियारलाई सोही स्थानमा रहेको करिब १०९ विगाह क्षेत्रफलको बढैयातालको अनुगमन गराउनुभएको थियो। अनुगमनका क्रममा ताल क्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै संरक्षणका लागि संघीय सरकारको ध्यानाकर्षण गराइएको थियो।
कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी तथा ठूलो संख्यामा माछा पालक कृषकहरूको सहभागिता रहेको थियो।
कार्यक्रम कल्पवृक्ष मत्स्य सहकारी संस्था लिमिटेड, बढैयाताल–५का अध्यक्ष चन्द्र प्रकाश लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य नेपाल मत्स्य संघ, बर्दियाका अध्यक्ष गणेश लम्सालले राख्नुभएको थियो।
























