राजापुर | गाई तथा भैँसीपालन गर्दै दूधबाट राम्रो आम्दानी गर्ने आशामा किसानहरूले ठूलो मेहनत र लगानी गर्ने गर्छन्। दाना, औषधि, खोर व्यवस्थापनदेखि दैनिक हेरचाहसम्म किसानको खर्च र श्रम निरन्तर रहन्छ। गर्मी याममा दूधको माग बढी हुने भएकाले उत्पादन भएको दूध सहजै बिक्री भए पनि जाडो याममा भने बजार नपाउने समस्या अर्थात् ‘मिल्क होलिडे’ किसानहरूका लागि वर्षेनी दोहोरिने चुनौती बनेको छ।
यही समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित राजापुर नगरपालिका वडा नं। १, मनपरीपुर मा रहेको सफल कृषि सहकारी संस्था ले दूध प्रशोधन गरी छुर्पीको कच्चा पदार्थ उत्पादन गर्ने कार्य सुरु गरेको छ। सहकारीको यो पहलले जाडो याममा समेत किसानको दूध खेर जान नदिने र मूल्य अभिवृद्धि मार्फत आम्दानी सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
जाडो याममा विगतका वर्षहरूमा उत्पादन भएको सबै दूध खरिद गर्न नसकिएको तितो अनुभव सहकारी र किसान दुवैसँग रहेको बताइन्छ। सोही अनुभवलाई आधार मानेर यस वर्ष व्यवस्थापन समितिमा गहन छलफल गरी वैकल्पिक योजना तयार पारिएको सफल कृषि सहकारीका अध्यक्ष चेतराम थारु ले जानकारी दिनुभयो।

उहाँका अनुसार किसानको दूध नबिक्दा आर्थिक नोक्सानी मात्र होइन, पशुपालनप्रति निराशा बढ्ने अवस्था सिर्जना हुँदै आएको थियो। “किसानले वर्षभरि मेहनत गरेको दूध जाडोमा खेर जानु भनेको ठूलो समस्या हो। यसलाई स्थायी रूपमा समाधान गर्न खुर्पीको कच्चा पदार्थ उत्पादन सुरु गरेका हौं,” अध्यक्ष थारुले बताउनुभयो।
वि.सं. २०७० सालमा स्थापना भएको सफल कृषि सहकारीमा हाल ६२७ जना पशुपालक किसान आबद्ध छन्। सहकारीमार्फत जाडो याममा समेत उत्पादन भएको सबै दूध बिक्री गर्न पाउँदा किसानहरू खुसी देखिएका छन्। किसानहरूका अनुसार पहिले जाडो याममा दूध बिक्री नहुँदा घाटा बेहोर्नुपर्थ्यो भने अहिले सहकारीकै कारण ढुक्क भएर पशुपालन गर्न सकिने अवस्था बनेको छ।
किसानहरुले जाडोमा दूध नबिक्ने चिन्ता हटेको बताउँदै, सहकारीले समयमै दूध संकलन गरी प्रशोधन गर्ने व्यवस्था मिलाएकोमा सन्तुष्टि व्यक्त गरे ।
सफल कृषि सहकारीले यसै वर्षदेखि एक लाख पचास हजार रुपैयाँ लागतमा छुर्पी को कच्चा पदार्थ उत्पादन गर्ने मेसिन भित्र्याएको छ। प्रतिदिन करिब ६०० लिटर दूध संकलन गर्दै आएको सहकारीले दैनिक १० किलो खुर्पीको कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य सहित काम अगाडि बढाएको सहकारीका व्यवस्थापक भरत बहादुर चौधरीले बताउनु भयो ।
सहकारीका अनुसार खुर्पीको कच्चा पदार्थ उत्पादनपछि बजार व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ। स्थानीय बजारसँगै बाह्य बजारमा समेत आपूर्ति गर्ने योजना रहेको सहकारीले जनाएको छ।
उत्पादन सुरु भएसँगै सहकारीले हालै मात्र एक जनालाई तालिमसहित रोजगारी प्रदान गरेको छ। सहकारीका पदाधिकारीहरूका अनुसार आगामी दिनमा उत्पादन विस्तार भएसँगै थप रोजगारी सिर्जना हुने सम्भावना रहेको छ।
स्थानीय स्तरमै दूध प्रशोधन गरी खुर्पीको कच्चा पदार्थ उत्पादन गर्ने सफल कृषि सहकारीको यो पहलले जाडो यामको ‘मिल्क होलिडे’ समस्याको दीर्घकालीन समाधानतर्फ महत्वपूर्ण संकेत गरेको छ। यसले किसानको आम्दानी स्थायित्व, सहकारीको आर्थिक मजबुती र स्थानीय स्तरमा रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।























