विज्ञापन

लैङ्गिक रूपान्तरणमुखी शिक्षा सम्बन्धी एकदिने समिक्षा तथा अभिमुखिकरण सम्पन्न

Image

राजापुर/ राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सहजीकरणमा संचालित बालिका सशक्त परियोजना अन्तर्गत लैङ्गिक रूपान्तरणमुखी शिक्षा सम्बन्धी एकदिने समिक्षा तथा अभिमुखिकरण कार्यक्रम बिहिबार राजापुरमा सम्पन्न भएको छ। कार्यक्रमले विद्यालय तहमा लिङ्गीय पूर्वाग्रह हटाउँदै समावेशी शिक्षा प्रणालीलाई मजबुत बनाउने उद्देश्य बोकेको थियो।

कार्यक्रममा राजापुर नगरपालिका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी प्रमुख अतिथि रहनुभयो। उहाँले विद्यालयस्तरमै लैड्गिक समानता र रूपान्तरणमुखी शिक्षा लागू हुन सके मात्र बालबालिकाको क्षमता उजागर हुने बताउनुभयो।

समीक्षामा नेपाल राष्ट्रिय आबि ईश्वरीगञ्ज, भेरी माबि धोबिनीपुर, जनचेतना माबि मगलपुर, नेपाल राष्ट्रिय माबि गोडियाना, नेपाल राष्ट्रिय आबि बदालपुर र नेपाल राष्ट्रिय आबि टेडियाबाट आएका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता थियो। सहभागीहरूले विद्यालयमा दैनिक शिक्षण–अध्ययन हुँदै पाठ्यक्रम निर्माणसम्मका क्षेत्रमा विद्यमान लैङ्गिक असमानता, पूर्वाग्रह र अवसरका खाडलमाथि विस्तृत छलफल गरे।

भेरी माबि धोबिनीपुरकी व्यवस्थापन समिति सदस्य शान्ति केसीले कार्यक्रमले आफूहरूलाई लैङ्गिक विषयमा अझ सजग बनाएको र विद्यालयमा व्यवहारगत परिवर्तन ल्याउन प्रेरित गरेको बताइन्।

त्यसैगरी, नेरा आबि टेडियाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लौटन चौधरीले विद्यालयका पाठ्यपुस्तक र गतिविधिहरूमा आज पनि महिला र पुरुषको भूमिकालाई परम्परागत ढाँचामा बाँधेर प्रस्तुत गरिने प्रचलन हटाउनु आवश्यक रहेको टिप्पणी गरे।

कार्यक्रम राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर रेनु चन्दको सञ्चालनमा अघि बढेको थियो भने परियोजना अधिकृत मनोज पौडेलले लिङ्गीय असमानता पहिचान, पाठ्यक्रममा निहित पूर्वाग्रह, व्यवहार परिवर्तन र समावेशी वातावरण निर्माणबारे सहजीकरण गर्नुभएको थियो।

अभिमुखिकरणले सहभागीहरूलाई विद्यालयमा लैङ्गिक संवेदनशीलता र रूपान्तरणमुखी अभ्यास लागू गर्न ठोस योजना बनाउन मद्दत गरेको आयोजक संस्थाहरूले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन