विज्ञापन

तिहार शुरु भएसँगै बजारमा चहलपहल बढ्दै

Image

बढैयाताल। नेपालीहरूको दोस्रो महान् पर्व तिहार आजदेखि औपचारिक रूपमा सुरु भएको छ। पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन धनतेरसको रूपमा मनाइन्छ, जसको धार्मिक तथा सांस्कृतिक महत्त्व अत्यन्तै गहिरो छ।

धनतेरसको दिनलाई नयाँ भाँडाकुँडा, सुनचाँदीका गरगहना तथा दिपावलीका सामग्री किनमेल गर्न सबैभन्दा शुभ दिन मानिन्छ। धार्मिक विश्वासअनुसार, आजको दिन खरिद गरिएको सामग्रीमा लक्ष्मीको वास हुने र ती सामान राखेर लक्ष्मीपूजा गर्दा घरमा धनधान्यको वृद्धि हुने मान्यता रहेको छ। साथै, कमलको फूलमा विराजमान लक्ष्मी माता र गणेशको मूर्ति वा तस्वीरसहित कुचो, धनिया, अदुवा र बेसारको सुठो घर भित्र्याउँदा विशेष फल प्राप्त हुने विश्वास पनि रहँदै आएको छ।

बढैयाताल गाउँपालिकाको मैनापोखर बजारमा आज बिहानैदेखि व्यापारिक चहलपहल उल्लेखनीय रूपमा बढेको देखिएको छ। भाँडाकुँडादेखि लिएर दीपावलीका सरसामान बेच्ने पसलहरूमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ। सुनचाँदीका पसलहरू, भाँडाको पसल र माला–दिया बेच्ने स्टलहरूमा भीड लाग्नुका साथै, मानिसहरू तिहारको तयारीमा व्यस्त देखिएका छन्।

स्थानीय व्यापारीहरूले भने यो दिनलाई वर्षकै सर्वाधिक व्यापार हुने अवसरका रूपमा लिएका छन्। सम्पन्न वर्गले सुनचाँदीका गहना किनमेल गरिरहेका छन् भने मध्यम तथा निम्न आय भएका उपभोक्ताहरूले कुचो, तामाका भाँडाकुँडा र सामान्य सरसामान खरिद गरी घर सजाउने तयारी गरेका छन्।

तर, बढैयाताल भारतसँग सीमा नजिक रहेकाले स्थानीय बासिन्दाहरूको एक ठूलो भागले भारतको बलैगाउँ र लौकाही बजारमा किनमेल गर्न जाने परम्परा कायम राखेको छ। त्यसैले मैनापोखरबाहेकका केही स्थानीय बजारहरू आज पनि अपेक्षाकृत शान्त देखिएका छन्।

तिहारको यो सुरुवाती दिनले बजारमा मात्र होइन, मानिसहरूको मुहारमा पनि उत्सवको चमक र नयाँ सुरुवातको ऊर्जामय माहोल ल्याएको छ। दीपावलीको झिलिमिली र धनतेरसको शुभकामनासँगै देशभरका नेपालीहरू समृद्धि र सकारात्मकताका साथ तिहार मनाउने तयारीमा जुटेका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन