बढैयाताल, बर्दिया । जनजागरण महिला संघको २५ औँ साधारण सभा तथा अधिवेशनले अध्यक्षमा पुनः गोमा पौडेललाई निर्विरोध चयन गरेको छ । संघको केन्द्रीय कार्यालय सोरहवा, बढैयाताल–३ मा आश्विन ७ गते सम्पन्न अधिवेशनले पौडेललाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक ढाकाराम लामिछानेले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा सोनु बराईली, सचिवमा तारा सापकोटा, सहसचिवमा सुनिता चौधरी, कोषाध्यक्षमा जमरूल खाँ निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा पार्वती गौतम, गौरी तिवारी, जमुना केसी, सिता लामिछाने, पार्वती बराल र सन्ध्या सुनार निर्विरोध निर्वाचित भए ।
साधारण सभाले गत वर्षको आय–व्यय विवरण र यस वर्षका नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । यद्यपि केही नयाँ अनुहार भए पनि अध्यक्षसहित धेरैजसो पुराना पदाधिकारी पुनः चयन भएका छन् । पौडेल संघको स्थापना कालदेखि निरन्तर अध्यक्षमा निर्विरोध चयन हुँदै आएकी छिन् ।
२०५६ सालमा स्थापना भएको यस संघले प्रारम्भिक दिनमा निरक्षर महिलालाई साक्षर बनाउने अभियान सञ्चालन गरेको थियो । हालसम्म यसले महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, सीपमूलक तालिम, आयआर्जन सहयोग, विपन्न परिवारका बालबालिकाका लागि पोषण कार्यक्रम, विपत् पीडितलाई सहयोग, गर्भवती तथा सुत्केरी महिलालाई पोषण वितरण, बाख्रा पैचो कार्यक्रम, वेमौसमी तरकारी उत्पादनलगायतका गतिविधि गर्दै आएको छ ।
कार्यक्रम बढैयाताल–३ का वडा सदस्य तथा न्यायिक समिति सदस्य रुद्र प्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।























