विज्ञापन

बढैयातालमा अन्तरपालिका फुटबल प्रतियोगिता आम्दानी–खर्च सार्वजनिक

Image

बढैयाताल/ मयुर युवा क्लब, बढैयाताल–८ ले आयोजना गरेको अन्तरपालिका स्तरीय छैठौं अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी–खर्च सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।

गत बैशाख २ गतेदेखि ९ गतेसम्म मयुर युवा क्लबको खेलमैदान, नयाँबस्तीमा सम्पन्न प्रतियोगितामा बर्दिया जिल्लाका आठवटै नगरपालिका र गाउँपालिकाहरू सहभागी भएका थिए। प्रतियोगितामा ठाकुरबाबा नगरपालिका विजेता र बाँसगढी नगरपालिका उपविजेता बनेका थिए। विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित प्रमाणपत्र पाएका थिए भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए।

सार्वजनिक सुनुवाइमा क्लबका कोषाध्यक्ष शम्शेर मल्लले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, प्रतियोगिता सञ्चालनका लागि ५ लाख ४१ हजार ४ सय ६१ रुपैयाँ संकलन भएको थियो। खेल सम्पन्न गर्न ४ लाख ६५ हजार ८ सय ९१ रुपैयाँ खर्च भई ७५ हजार ५ सय ७० रुपैयाँ बचत भएको उनले जानकारी दिए। त्यसमध्ये १४ हजार रुपैयाँ केही सहयोगी निकायबाट अझै बुझ्न बाँकी रहेकाले वास्तविक बचत ६१ हजार ५ सय ७० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतियोगिता सम्पन्न गर्न बढैयाताल गाउँपालिका, वडा कार्यालय, विभिन्न संघ–संस्था, उद्योगी–व्यवसायी र व्यक्तिहरूको उल्लेखनीय योगदान रहेको थियो।

कार्यक्रम मयुर युवा क्लबका अध्यक्ष ईश्वर बहादुर मल्लको अध्यक्षतामा भएको थियो। सो अवसरमा प्रमुख अतिथि वडा नं। ८ का अध्यक्ष तेजनाथ पौडेलले खेलकुदमार्फत युवालाई रचनात्मक कार्यतर्फ प्रेरित गर्न क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए। साथै वडा कार्यालयले खेल तथा युवा गतिविधिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

सुनुवाइ कार्यक्रममा वडा सदस्यहरू डिल्लि प्रसाद गौतम, कृष्णकला सुनार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय व्यक्तित्व र क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार हिक्मत सुनारले गरेका थिए।

विज्ञापन
विज्ञापन
विज्ञापन