बढैयाताल/ बढैयाताल गाउँपालिका वडा नं ७ र वडा नं ९ ले अति अशक्त ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा कार्यालयसम्म पुग्न नसक्ने अशक्त व्यक्तिलाई घरमै पुगेर सेवा दिन थालेका छन्। सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, प्राथमिक स्वास्थ्य परीक्षणदेखि स्वास्थ्य बीमा कार्यक्रमसम्म घरमै पुगेर उपलब्ध गराइँदैछ।
वडा नं ७ का अध्यक्ष राधेश्याम थारूका अनुसार गत वर्षदेखि नै घरमै पुगेर सेवा दिने अभियान सुरु गरिएको हो। यस आर्थिक वर्षमा मात्रै ३० जना अशक्त तथा आफैं हिँडडुल गर्न नसक्ने महिलामहिला र पुरुषलाई सामाजिक सुरक्षा भत्ता नवीकरण र बायोमेट्रिक प्रणालीमा आवद्ध गराइएको छ। “हामी अझै बाँकी लाभग्राहीहरूसम्म पुग्ने क्रममा छौं,” वडा सचिव रण बहादुर रावतले जानकारी दिए।
घरमै पुगेर सेवा पाएपछि ९१ वर्षीय गन बहादुर खत्री, ८७ वर्षीय रामप्रसाद सुवेदी र ८४ वर्षीय जुद्ध बहादुर खत्रीले खुसी व्यक्त गरे। वडा कार्यालयले विपन्न परिवारका ७० घरधुरीलाई वडा बजेटबाट स्वास्थ्य बीमा कार्यक्रममा समेत सहभागी गराएको छ।
यस्तै, वडा नं ९ का अध्यक्ष विर बहादुर थारूका अनुसार यस वर्षदेखि त्यहाँका अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण र स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराउन थालिएको हो। हालसम्म ३० जनाको परिचयपत्र घरमै पुगेर नवीकरण गरिएको छ भने हिँडडुल गर्न नसक्ने अन्य लाभग्राहीलाई पनि क्रमशः सेवा पुर्याइने तयारी गरिएको छ।
“गत वर्ष केही अशक्त नागरिकले नवीकरण गर्न नसकेर सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको थियो। त्यसपछि हामी स्वयं वडा सदस्यसहित लाभग्राहीको घरमै पुगेर सेवा दिन थालेका हौं,” अध्यक्ष थारूले बताए। उनका अनुसार भदौ महिनाभित्र वडाभरिका सबै अशक्त लाभग्राहीलाई परिचयपत्र नवीकरण गराइसक्ने लक्ष्य छ।
सामाजिक सुरक्षा नियमावली २०७६ अनुसार लाभग्राहीले भदौभित्रै गाऊँपालिका वा वडा कार्यालयमा पुगेर नवीकरण गर्नुपर्ने व्यवस्था छ। तर, आफैं हिँडडुल गर्न नसक्ने अशक्त, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई लक्षित गरी वडा कार्यालयहरू स्वयं घरमै पुगेको हो।
हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातजाति, विपन्न नागरिक, अशक्त तथा असहाय र बाल पोषणका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।























