विज्ञापन

योग साधना र तिज मिलन कार्यक्रम सम्पन्न

Image

बढैयाताल  — “जिवनका लागि योग, स्वास्थ्यका लागि योग” भन्ने नाराका साथ बढैयाताल गाउँपालिका योग समितिको आयोजनामा योग साधना तथा तिज मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ।

बढैयाताल गाउँपालिका–५ स्थित बढैयाताल क्षेत्रमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, विभिन्न अतिथि, योग साधक–साधिका तथा स्थानीयको उपस्थिति थियो। सहभागीहरूले सामूहिक योग अभ्याससँगै तिज पर्वको शुभकामना आदान–प्रदान गरेका थिए।

सन् २०८० सालदेखि बढैयाताल गाउँपालिकामा योग साधना कार्यक्रम सञ्चालन हुँदै आएको समितिले जनाएको छ। हाल गाउँपालिकाभित्र पाँचवटा योग साधना केन्द्रमार्फत नियमित योग अभ्यास भइरहेको र दैनिक करिब ३०० जना साधक–साधिकाहरू सहभागी हुने गरेको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको थियो।

समितिका अध्यक्ष विष्णु पौडेलले प्रतिवेदनमार्फत सुरुवाती चरणमा १५ जनाबाट सुरू भएको योग अभ्यास अहिले व्यापक बनेको बताए। उनका अनुसार नियमित साधनाबाट धेरै सहभागीहरूलाई विभिन्न रोग निको भएको अनुभव छ। कार्यक्रममा वडा नं ४ का लल्लुराम थारू, वडा नं ५ का रमेश लम्साल, वडा नं ३ की भगवती लामिछाने, वडा नं ७ का गोविन्द ढुङ्गाना, वडा नं ६ का टंक प्रसाद भट्टराई तथा वडा नं ३ का कृष्ण पौडेलले योग अभ्यासबाट पाएको व्यक्तिगत अनुभव साझा गर्दै सबैलाई नियमित योगमा सहभागी हुन आग्रह गरे।

कार्यक्रम बढैयाताल गाउँपालिका योग समितिका अध्यक्ष विष्णु पौडेलको सभापतित्वमा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले आफ्नै अनुभव साझा गर्दै नियमित योग अभ्यासका कारण आफूले औषधि सेवन छोड्नुपर्ने अवस्था आएको र योगले गाउँपालिकाभित्र स्वास्थ्य सुधारमा ठुलो योगदान पुर्‍याएको बताए।

यसै अवसरमा योग अभ्यासलाई निरन्तरता दिई योगदान पुर्‍याउने छ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। साथै, कार्यक्रमअन्तर्गत तिज मिलनका रूपमा दर खाने, गीत–संगीत र नृत्यसमेत गरिएको थियो।

सम्पूर्ण कार्यक्रमको खर्च स्थानीय बासिन्दाले सौजन्य गरेका थिए भने सञ्चालन योग सह–प्रशिक्षक रमेश पौडेलले गरेका थिए।

विज्ञापन
विज्ञापन
विज्ञापन